नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा परिवारको जिम्मा

 

काठमाडौं । शनिबार मध्यराति निवासबाटै नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केहीबेरअघि जबरालाई उनका आफन्त (परिवार) को सुपुर्दगी गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले पूर्वप्रधानन्यायाधीश जबरालाई परिवारको जिम्मा लगाइएको पुष्टि गर्नुभएको छ।

यसअघि अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्काले जबरालाई ‘सुरक्षा थ्रेट’ (सुरक्षा जोखिम) रहेकाले सुरक्षित ठाउँमा राखिएको दाबी गर्दै आउनुभएको थियो।

गएराति अपराध अनुसन्धान कार्यालयको टोली महाराजगञ्जस्थित निवास पुगेपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराउनुभएको थियो। प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजी’ (Gen Z) बाट सुरक्षा थ्रेट रहेको भन्दै उहाँलाई नियन्त्रणमा लिएर लगेको थियो।

जबरालाई नियन्त्रणमा राखेपछि उहाँको अवस्था बुझ्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको थिएन। आयोगको टोली मुख्य गेटमै करिब ४५ मिनेट पर्खिँदा पनि प्रहरीले ढोका नखोलेपछि अनुगमन टोलीित्तै फर्कन बाध्य भएको थियो।

सरकार तथा प्रहरी प्रशासनले पक्राउ गर्नुको स्पष्ट कानुनी कारण र औचित्य नखुलाएको भन्दै कानुनका जानकार, मानव अधिकारकर्मी तथा प्रमुख राजनीतिक दलका नेताहरूले प्रहरीको यो शैली र गैरकानुनी कदममाथि गम्भीर प्रश्न उठाएका छन्।

 

सम्बन्धित समाचार

ताजा न्यूज