काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा पेस गरेको छ। सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि विभागले नियन्त्रणमा लिएका पौडेललाई आज अदालतमा उपस्थित गराइएको हो। विभागको पत्रका आधारमा सोमबार सुर्खेत प्रहरीले पक्राउ गरेको पौडेललाई मंगलबार बिहान काठमाडौँ ल्याइएको थियो।
पौडेललाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा छापा मारेको थियो। उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद देखिएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको विभाग स्रोतले जनाएको छ। हाल विशेष अदालतमा उनको म्याद थप गर्ने विषयमा कानुनी प्रक्रिया अघि बढेको छ। अदालतमा सरकारी वकिलहरूले म्याद थपको माग गर्दै बहस गरिरहेका छन् भने पौडेल पक्षका कानुन व्यवसायीहरूले उनको पक्राउ नै गैरकानुनी भएको भन्दै त्यसको प्रतिवाद गरिरहेका छन्। हाल दुवै पक्षबीच चर्को बहस चलिरहेको छ।

