राम कृष्ण दाई !

कानुन व्यवसायभित्र आफूभन्दा अग्रजलाई सम्मान दिई “सर” वा “दाई” भनेर बोलाउने गज्जबको परम्परा छ। घरायसी दायराबाट बाहिर निस्केपछि व्यावसायिक कामका सिलसिलामा आफ्नै बाबुआमा कानुन व्यवसायमा छन् भने पनि धेरै कानुन व्यवसायीले दाई या दिदी भन्ने गर्दछन्। आजको शनिबार म मेरो बुबालाई बुबा भन्दा पनि ‘राम कृष्ण दाई’ को व्यावसायिक नाताले हेरेको छु, किनकि मेरो व्यावसायिक यात्रा तय गर्ने योजनाकार राम कृष्ण दाई हुनुहुन्छ।

मैले यो लेखिरहँदा राम कृष्ण दाई ८ दिनदेखि स्वास्थ्य अनुकूल नभएकाले वीर अस्पताल मा भर्ना हुनुभएको छ। भोलिसम्म अस्पतालले डिस्चार्ज गर्ने कुरा छ। शरीर अलि कमजोर भए पनि उहाँको आत्मविश्वास अती बलियो र दृढ छ। बलियो आत्मविश्वासले उहाँलाई स्वास्थ्य सुधारमा सहयोग समेत गरेको छ। यो बीचमा मैले मेरो बुबालाई व्यावसायिक अग्रजको हिसाबले हेरेको छु; बुबा त बुबा भैहाल्नुभयो।

बनारसमा संस्कृतमा मध्यमा गरी शिक्षक पेसा अपनाएका राम कृष्ण दाईलाई आफ्नो बुबाको लेखापढी, जिमुवाली (राइटर) को कामलाई निरन्तरता दिनुपर्ने परिस्थिति एकातिर आयो भने अर्कोतिर उनलाई अंशबण्डा सम्बन्धी घरायसी मुद्दा-मामिलामा लमजुङ देखि पोखरा अञ्चल अदालत सम्म पुग्दा कानुनको अध्ययन गर्ने रुचिले लमजुङ देखि काठमाडौंसम्म तानेर ल्यायो। उहाँले कानुन पढ्दा क्लासमा उमेरले पाका उहाँ हुनुभएकाले सहपाठीहरू उहाँलाई दाई भन्ने रहेछन्। कानुन पढ्नुअघि नै लेखापढी काममा पारङ्गत भइसकेका राम कृष्ण दाई कानुनको अध्ययनपछि अभिवक्ता हुँदै अधिवक्ता सम्म करिब चालिस वर्ष वकालत गरिरहनुभयो। काठमाडौंमा कानुन व्यवसायीको सुरुवाती दिन बिताएका उनी म दाजु र मेरो दुई बहिनीसँग हाम्रो बाल्यकालमा धेरै समय रहन नसकेकाले हाम्रो अभिभावकत्वका लागि काठमाडौं छोडी लमजुङमा वकालत सुरु गर्नुभयो। उहाँलाई लाग्यो- बेसीसहरको बसाइले हामीलाई अध्ययनको सम्भावनाको रेखा ठूलो हुँदैन, त्यसैले साना-साना हामी बालबच्चा बोकेर चितवन लाग्नुभयो।

तसर्थ, हाम्रो जीवनको आधुनिक समय चितवनबाट सुरु हुन्छ। चितवनमा राम कृष्ण दाईको व्यावसायिक संघर्ष उसबेला न देखियो न बुझियो। तर, एउटा कानुन व्यवसायी कुन हदसम्म पेसामा तल्लीन हुन्छ, कति संघर्ष गर्नु पर्छ भन्ने मैले राम कृष्ण दाईमा देखेको छु। उहाँको जति मिहेनत कहिल्यै गर्न सकिएन, तर पेसाका अग्रजहरू कति मिहेनत गर्छन्, उहाँबाट देखेको छु। अहिले आफूले त्यही पेसा अंगालेपछि बुझ्दै छु- मिहेनत के हो र कुन हदसम्म गर्नुपर्छ। आफू तीन वर्षको हुँदा आमा गुमाएका उनी भर्खर नौजवान भई पेसामा लाग्न तरखर गर्दा बुबा गुमाए। मैले हजुरआमाको त के कुरा भो र हजुरबुबा समेत देख्न पाइनँ। तर हजुरबुबाको बारेमा बेसीसहरबाट बाहुनडाँडा उकालो लाग्नासाथ धेरै व्यावसायिक किस्सा सुन्न पाइन्छ। मैले देखेको भने राइटर बाजेले लेखेका केही तमसुक र लिखतहरू र फोटो मात्र हुन्। राइटर बाजेको व्यक्तित्व, व्यावसायिक निष्ठा अनि प्रभावको बारेमा उसबेलाका बुढापाकासँग खुब सुनियो।

राइटर बाजेले छोडेका व्यावसायिक कामहरूलाई राम कृष्ण दाईले जानी-नजानी अंगाल्नुभयो अनि सोही चरित्र र व्यावसायिकतालाई उहाँपछिको पुस्ता- मलाई कानुन व्यवसायमा ल्याएर छाडिदिनुभयो। अहिले राम कृष्ण दाई मलाई र रोशनीलाई हेर्दा सन्तोषको श्वास फेरे जस्तो लाग्छ। अर्थशास्त्र र अङ्ग्रेजी साहित्यमा रुचि राख्ने र सोही विषयको अध्ययन गरेको म, आखिर त्यही विरासतलाई निरन्तरता दिन बाध्य भएँ। कानुन पढे । तर अहिले आएर सम्झिँदा त्यो मेरो बाध्यता थिएन, म कानुन व्यवसायी हुनकै लागि जन्मेको जस्तो लाग्छ।

राम कृष्ण दाईलाई मेरो कानुनी शिक्षा र कानुनको पूर्व व्यावसायिक शिक्षाको गुरु मान्दछु। किनकि उनकै योजनालाई मैले आफूमा ढाल्दै गएँ अनि मलाई आत्मसन्तुष्टि पनि छ, किनकि म न्यायका लागि लड्ने पेसामा छु। मलाई लाग्छ राम कृष्ण दाई अहिले आफू सन्तुष्ट नै हुनुहोला अनि मलाई बेला-बेलामा भनिरहनुहुन्छ, “देखिस त केटा! कानुन व्यवसायी हुनु कति गर्वको कुरा रहेछ।” खासगरी उनको यो डाइलग मैले कुनै मुद्दामा पक्षलाई न्याय मिलेकोमा खुसी व्यक्त गर्दा आइरहन्छ। मनमनै म ‘थ्याङ्क यू बा’ भन्छु।

राम कृष्ण दाईलाई सधैं लागेको एउटा कुरा के रहेछ भने- शिक्षा र व्यवसायमा राम्रो गुरु वा पथप्रदर्शक भएन भने व्यक्तिको जीवन पद्धति र प्रगतिमा धेरै गाह्रो हुन्छ, या धेरै संघर्ष गर्नुपर्छ। अग्रजको सानो सिकाइ र मार्गदर्शनले व्यक्तिको व्यावसायिक प्रगति र अवसरमा धेरै प्रभाव पार्छ। त्यसैले होला, दाईले मलाई माध्यमिक शिक्षा सकेपछि कहिल्यै फुर्सद दिनुभएन। काम लगाइरहनुभयो, सिकाइरहनुभयो अनि पढाइरहनुभयो। मलाई अझै याद छ, स्कूल पढ्दादेखि नै दाईले कहिले फिराद-प्रतिउत्तर दर्ता गर्न उनका सहयोगीसँगै पठाउने, बिजुली-पानीको पैसा तिर्न पठाउने, बैंक अनि अन्य सरकारी कार्यालयमा सँगै पठाउनुहुन्थ्यो भने एसएलसी सकेपश्चात् त म एउटा जिम्मेवार कानुनी सहयोगी भइसकेको थिएँ। फेरि उसबेला बालिग हुने उमेर १६ वर्ष थियो क्यारे। त्यतिबेलासम्म त म कानुन अध्ययन नगरेको तर अदालतमा कानुनी काम गर्न जानेको व्यावसायिक विद्यार्थी भइसकेको थिएँ। तर, सायद सानैदेखि कानुनी किताब, लिखत र तमसुक वरिपरि हुर्केको भएर होला, मलाई कानुन व्यवसायी हुने रुचि घटिसकेको थियो। दाईलाई यो कुरा भन्न सकिनँ, तर दाई भने छोरा वकिल हुने भो भन्ने कुरामा ढुक्क देखिन्थे।

सायद त्यसकै निरन्तरताका लागि मैले राम कृष्ण दाईको फाइल बोक्न सुरुवात गरें। फुर्सदको बेला मलाई पढ्न दिइने पुस्तक भनेको कानुन पत्रिका हुन्थ्यो अनि नक्कल सार्ने अदालती कागज। तर कानुन पत्रिका हेर्दा खाली फौजदारी अपराधका मुद्दा मात्र हुन्थे। कानुन व्यवसायी हुने चाख नहुँदा नहुँदै मलाई सस्पेन्स, थ्रिलर अनि अपराध र अनुसन्धानका विषयका हिन्दी उपन्यास र सिनेमा खुब मन पर्न थाल्यो। २०५२ सम्मका धेरै कानुन पत्रिकाका फौजदारी मुद्दाहरू धेरै पढें। रामकृष्ण दाईले मलाई मानविकीमा आइए (IA) सकेपछि आफैंले दिनहुँ ट्युसन पढाई-पढाई आइएल (IL) पास गर्न सहयोग गरिदिनुभयो। मैले अघिल्लो शनिबार नै लेखिसकें- दाईले मलाई “कानुन पढ, पास गर, त्यति भए मलाई पुग्छ, वकिल हुनुपर्दैन” भन्नुभएकोले पढेको हुँ कानुन, कानुन व्यवसायी हुन पक्कै होइन। अन्तिममा दाईको योजना अनुसार पढेर छाडियो, वकिल नि भइयो। जब म वकिल हुने निश्चित भयो, त्यो बेलासम्म मलाई फौजदारी कानुन पढ्न धेरै चाख थियो तर दाईले “व्यवसाय गर्दै गयौ भने आफैं पढिन्छ, बुझिन्छ; अहिले तिमी संविधान र व्यावसायिक कानुन पढ” भनेर जोड दिनुभयो। त्यही पढियो।

अब व्यवसायमा आउनु थियो। सुरुवाती दिनहरू धेरै कठिन अनि अत्यासलाग्दो। कानुनी परिवारमा हुर्केर कानुनी पढे पनि काठमाडौं अती ठूलो ठाउँ। दाईलाई धेरै अनुरोध गरें- “कुनै ल फर्ममा भन्दिनुहोस्” भनेर, दाईले कहिल्यै मान्नुभएन। आजकल ल फर्ममा धेरैजसो आफ्नै वरपरका मानिसको सिफारिस र अनुरोध अनुसार नयाँ कानुनका विद्यार्थी र युवा कानुन व्यवसायीलाई स्थान दिने गरिन्छ। “भनसुन गरेर गएको ल फर्ममा काम सिकिँदैन” भन्नुहुन्थ्यो।

दाईसँग कानुन व्यवसायीको रूपमा दरिएपछि सँगै काम गर्ने मौका धेरै नमिले पनि केही मुद्दामा सँगै सर्वोच्च अदालतमा बहस गरियो। सँगै काम गर्ने मौका नमिले पनि सुपरभाइजरको रूपमा सधैं साथ पाइरहेँ। कुनै गम्भीर मुद्दा लिनुअघि दाईलाई फाइल पढ्न दिएर अनि दाईको सल्लाहबमोजिम नै निर्णय गर्छु अहिले पनि। नेपाली लिखतहरू दाईले ‘प्रुफ रिड’ नगरी अगाडि बढ्दैन। व्यावसायिक हिसाबले गाह्रो-अप्ठेरो पर्दा साथ, सहयोग र आँट दिने राम कृष्ण दाई नै हुन्। बिहेपछि रोशनीको भरोसा र प्रेरणाको कुनै मूल्यांकन नै छैन।

मलाई अझै याद छ, राम कृष्ण दाईले भन्नुहुन्थ्यो- “वकिल कहिल्यै खाली बस्दैन। अर्थात्, वकिलको समय कहिल्यै बेकार हुँदैन। हरेक पल सिक्ने पलहरू हुन्। सफल हुन पढ्नुपर्छ, पढिरहनुपर्छ। कानुनका नयाँ विकास र नजिरको ज्ञान हुनुपर्छ।” हरेक सिकाइले मानिसलाई व्यावहारिक र आत्मविश्वास दिलाउँछ। “त्यसैले तिमीलाई फुर्सदको समय हुन्न तर त्यही समयभित्र बालबच्चा, परिवार र व्यवसायको व्यवस्थापन गर्ने हो। घरभरी पुस्तकहरू छन्, जुन पुस्तक पढे पनि ज्ञान मिल्छ। तर पढ्नुपर्छ, बस पढ्नुपर्छ।” मैले दाईलाई कहिल्यै फुर्सदमा देखिनँ। घरमा हामीसँग बिताउने समयबाहेक अहिले पनि उहाँको समय पुस्तक र लेखन वरिपरि बित्छ। अहिले स्वास्थ्यले दाईलाई धेरै साथ दिएको छैन, तर अलिकति तङ्ग्रिँदा साथ फेरि पुस्तक अनि लेखन। दाईसँग मैले सायदै व्यावसायिक कुरा नसाटेको होला। कहिलेकाहीँ व्यावसायिक हिसाबले एक्लो महसुस हुँदा मलाई आँट र भरोसा दिने दुई पात्र छन् घरमा- रोशनी र राम कृष्ण दाई।

कहिलेकाहीँ कामको अभावमा अत्यास लागे कामको पीर “के गर्छस् केटा! आफैंले काम खोज्ने होइन, कामले तँलाई खोज्दै आउँछ” भन्नु हुन्छ । केही धैर्य गर्यो, दाईले भनेजस्तै हुन्छ। हुन त समय परिवर्तन भयो, १२ सकेको छोरोलाई अब अलि-थोरै काम गर्न थाले हुन्थ्यो, सिक्न थाले हुन्थ्यो जस्तो लाग्छ, तर मलाई दाईले एलएलएम (LLM) नसकिँदासम्म काम गर्न दिनुभएन। “अहिले काम गरिस् भने पैसा कमाउन थाल्छस्, पैसा कमाए पछि त्यसमा भुल्छस्, पढाइ बिर्सिन्छस्। त्यसैले पहिले पढाइ सक्ने अनि काम गर्ने। तेरो पढाइको खर्च मेरो, तँ बस बेफिक्री पढ।” रामकृष्ण दाईले मेरो व्यावसायिक जीवनमा दिनुभएको अर्को सुझाव भनेको- वकिलले पहिले प्राध्यापन गर्नुपर्छ। आत्मविश्वास क्लासबाट आउँछ अनि बहस गर्दा काम लाग्छ। त्यही सुझावलाई मनन गर्दै वकालत गर्नुअघि नै कानुन प्राध्यापन गर्ने गरें। मलाई त्यसले धेरै आत्मविश्वास दिएको छ। उहाँले भनेको अर्को कुरा- कानुन व्यवसायीले पढेका नयाँ कुरा डायरीमा टिप्नुपर्छ, पछि काम लाग्छ। त्यो मेरो निरन्तर अभ्यास हो। अहिले पनि दाई भनिरहनुहुन्छ- “हेर बाबु! निष्ठा र इमानले काम गर्नु, त्यसको फल कुनै समय आउँछ। तर गलत काम नगर्नु। गलत व्यवसाय गर्नेहरू आफू ठूलो भइयो जस्तो ठान्छन् तर व्यावसायिक वृत्तमा तिनीहरू जति गन्हाएको केही हुन्न। तिम्ले कानुन व्यवसाय गरेर पनि घर-व्यवहार चलाउन गाह्रो भो भने खेतीपाती जोडिदिएको छु, त्यही गरी खानु। तर व्यावसायिक निष्ठा नगुमाउनु।” आजसम्म खेतीपाती गर्ने अवस्था आएको छैन। उनले भन्छन्- निष्ठावान व्यक्ति न कोहीसँग डराउँछ, न कसैको पछि लाग्छ। एउटा कुरा पक्का के हो भने, मर्यादित व्यवसाय गर्नेलाई धेरैले रुचाउँदैनन्, घमन्डी भन्छन्। तिम्लाई नजिकबाट हेर्नेले मात्र चिन्छन्, नजिकबाट नहेर्नेले रुचाउँदैनन्। एउटा व्यवसायीले पक्षको प्रतिनिधित्व गर्दा केही कुरामा सम्झौता गर्न सक्दैन, न लापरवाही। तिम्ले जुन मुद्दा लिन्छौ, त्यसमा तिम्रो मिहेनतमा सम्झौता गर्न हुन्न। सम्झौता गरे पक्षलाई अन्याय हुन्छ। तर अहिले उहाँलाई लाग्छ- युवा कानुन व्यवसायीले जति मिहेनत गरे पनि अदालत आधुनिक छैन। उनले भन्छन्- पक्ष तिम्रो सेवाबाट खुसी भयो भने उसले नै तिमीलाई व्यवसाय दिने हो। त्यसैले न तिमीले पक्षको शोषण गर्न सक्छौ, न बेवास्ता।

राम कृष्ण दाईका व्यावसायिक हरेक कुरा अहिले साँचो र यथार्थ लाग्छन्। प्रेरणा, सन्तुष्टि र आत्मविश्वास लाग्छ। दाई यी कुराहरू मलाई र रोशनीलाई बारम्बार दीक्षित गराइरहनुहुन्छ। अनि सम्झन्छु अहिलेको नयाँ पुस्तालाई। कानुनको शिक्षामा ठूलो महत्त्वाकांक्षा लिएर आएका पहिलो पुस्ताको अवस्था कस्तो होला? कानुनको अध्ययन सकेपछि फर्ममा ठाउँ पाइँदैन, पाए पनि सिक्ने वातावरण खासै हुन्न, अदालततिर धाउन थाले झन् आत्मविश्वास घट्छ, सिफारिस गर्ने कोही छैन, फर्ममा पाएको पकेट खर्चले महिना दिन पुग्दैन। अनि फेरि सम्झन्छु लन्डन। मैले लन्डनमा इन्टर्नशिप गर्दा उल्टै पैसा तिर्नुपर्यो। ठूलो, अलि काम भएको ल फर्मभित्र छिर्नु नै ठूलो उपलब्धि हो। ल फर्मले सिकाउन पैसा दिन्न। तर व्यवसाय नबुझेका अभिभावकले “पढाइ सकेपछि अब वकिल भयौ, आफैं पैसा कमाऊ” भन्छन्। काम नजान्नेले पैसा पाउँदैनन्। कमाउन धेरै वर्ष लाग्छ, त्यो पहिले काम र विशेषग्य ताका कारण पक्षले पत्याउनुपर्यो। राम कृष्ण दाईले मलाई एलएलएम गरेर नेपाल फर्केसी अनि भोलिन्टियर भएर काम गर्दा समेत चितवनबाट मासिक खर्च पठाउनुहुन्थ्यो किनकि दाईलाई थाहा थियो- पेसाभित्रको अवस्था अनि युवा कानुन व्यवसायीको समस्या। अहिले पनि अन्तर्राष्ट्रिय सम्मेलनहरूमा वक्ताको रूपमा निम्ता आउँदा “जानुपर्छ, बरु खर्च म दिन्छु” भन्नुहुन्छ, दिइराख्नुभएको छ।

आज दाईको स्वास्थ्य अवस्था अलि बिग्रिएकाले अस्पतालमा भर्ना गरी कुर्न बसेको ८ दिन भयो। बिहानै ५ बजे उठेर निदाइरहनु भएका रामकृष्ण दाईलाई एकछिन एकोहोरो हेरिरहें। हुन त स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ, तर दाई शारीरिक रूपले यति कमजोर हुनुभएछ भन्ने कहिल्यै लागेन। आत्मविश्वास भने दाईको कत्ति घटेको छैन। दाईलाई अहिलेको न्याय व्यवस्थाप्रति त्यति सन्तुष्टि छैन। आफूले व्यवसाय गर्दाको निष्ठा अनि न्यायमूर्तिहरूको सक्षमताको धेरै कुरा गर्नुहुन्छ। न्यायपालिका स्वतन्त्र नरहेको र केही खराब कानुन व्यवसायी र न्यायमूर्तिहरूका कारण न्यायपालिकाको साख गिरेकोमा दाईलाई चिन्ता छ। वकिलले प्रहरीसँग, अदालतका कर्मचारी र न्यायमूर्तिसँग सेटिङ गर्ने, बिचौलियाको काम गर्ने अनि राजनीतिक आवरण पछाडिबाट स्वतन्त्र हुनुपर्ने न्यायाधीश नियुक्ति हुने जुन अवस्था रह्यो अनि त्यसको असर जुन देखियो, त्यसले दाईलाई चिन्ता लागेको बुझिन्छ। त्यसैले दाई बारम्बार भन्नुहुन्छ- “हेर बाबु! व्यावसायिक निष्ठालाई बन्धक बनाउनुभन्दा रामपुरमा खेती गरेर खानु, त्यसको भिटामिन ज्यादा हुन्छ।”

सम्बन्धित समाचार

ताजा न्यूज