अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच भएको हात हालाहालको विषयमा आरोप प्रत्यारोप 

 काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरको सुरक्षामा खटिएका एक प्रहरी जवान जीवन छिनाल र कानून व्यवसायी नानी थापाबीच आइतबार अदालत परिसरमै हात हालाहाल भएको घटनामा दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

आइतबार दिउँसो १ः२० बजे काठमाडौँ जिल्ला अदालत परिसरको ३ नं गेटबाट प्रवेश गर्ने विषयमा अधिवक्ता थापा र प्रहरी जवान छिनालबीच भनाभन भएको थियो । यहीक्रममा दुवैबीच हात हालाहाल भएको बताइएको छ । 

प्रहरी जवान छिनालले भनाभन भएपछि अधिवक्ता थापाले तथानाम गाली गर्दै आफूलाई गालामा चड्कन हानेको आरोप लगाएका छन् । उता अधिवक्ता थापा भने प्रहरी जवान छिनालले आफूलाई मुक्का हानेको बताउँछिन् । गालामा चोट लागेकी थापाले रगत बगेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै दोषीलाई कारबाही गर्न माग गरेकी थिइन् । थापाले आफूले प्रहरी जवानलाई नकुटेको दावी गरेकी छिन् । 

यो घटनालाई लिएर मङ्गलबार काठमाडौंमा जिल्ला अदालत बार एशोसिएसन र काठमाडौँ जिल्ला अदालतका कर्मचारीहरूले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका छन् । बारले अधिवक्तालाई प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा अदालतको सुरक्षामा खटिएका प्रहरी जवानले अदालत परिसरमा अधिवक्ता लक्ष्मी (नानी) थापालाई अनुहारमा मुक्का प्रहार गरी घाइते बनाएको घटनाप्रति काठमाडौँ जिल्ला अदालत बार एशोसिएसन गहिरो दुःख व्यक्त गर्दछ । सुरक्षाको लागि सेवामा खटिएका सुरक्षाकर्मीबाट भएको यस घटनाले सम्पूर्ण कानून व्यवसायी मर्माहत भएका छौँ भनिएको छ । 

बारले कानून व्यवसायको सिलसिलामा अदालतमा बहस पैरवीका लागि उपस्थित भएका कानून व्यवसायीलाई सुरक्षाकर्मीबाट भएको भौतिक आक्रमणले समग्र कानून व्यवसायीलाई त्रसित बनाउने र स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न समेत अवरोध सिर्जना गरेको उल्लेख गर्दै घटनाको घोर भर्त्सना गरेको छ । कानून व्यवसायी उपर हुने सबै किसिमका अन्याय विरुद्धमा कानूनी प्रतिरक्षामा उत्रन तयार हुने चेतावनी दिँदै बारले दोषीउपर कानून बमोजिम कडा कारवाही गर्न माग गरेको छ । 

उता जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूका तर्फबाट जारी गरिएको विज्ञप्तिमा अधिवक्ता थापाले प्रहरी कर्मचारीलाई कुटेको बताउँदै उनीमाथि कारबाहीको माग गरिएको छ । विज्ञप्तिमा न्यायपालिका जस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौच गर्दै बर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरञ्जित गरिएको भन्दै  भत्सर्ना गरिएको छ । अगाडि भनिएको छ, अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरिएको अनुभव गरेका छौँ । अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात ८ गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले गरिएको आपराधिक कार्यप्रति भत्सर्ना गर्दै यस्तो गल्ती र आपराधिक कार्यमा संलग्न व्यक्ति उपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारवाही अघि बढाउन अनुरोध गर्दछौं । 

उक्त विज्ञप्तिमा घटनासँग सम्बन्धित सिसिटिभी क्यामेराको फुटेज अध्ययन अनुसन्धान गरी दोषी उपर  कानुन बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन जोडदार माग गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज