मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको आर्थिक ठगी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कारबाहीलाई तीव्र बनाएको छ। यसै क्रममा पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। मलेसियन सरकारसँग भएको द्विपक्षीय श्रम सम्झौताविपरीत श्रमिकहरूबाट अवैध रूपमा रकम संकलन गरी ठगी गरेको आरोपमा अर्यालविरूद्ध पुर्जी लिइएको सिआइबीले जनाएको छ। पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले खोजी कार्य तीव्र पारे पनि पूर्वमुख्य सचिव अर्याल हाल सम्पर्कविहीन रहेका छन्।

यही प्रकरणमा संलग्न रहेको अभियोगमा सिआइबीले बुधबार दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू अछामको चौरपाटी गाउँपालिका–४ निवासी ६० वर्षीय शेरबहादुर कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्ही निवासी ६१ वर्षीय रामेश्वर राय यादव रहेका छन्।

त्यसैगरी, सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जाहेरीका आधारमा सिआइबीले यो प्रकरणको अनुसन्धान अघि बढाएको हो। नियन्त्रणमा लिइएका ६ जनामाथि अदालतबाट म्याद थप गरी ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत विस्तृत अनुसन्धान भइरहेको र फरार रहेका पूर्वमुख्य सचिव अर्यालको खोजी जारी रहेको सिआइबीले जानकारी दिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज