काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत चौधरीसहितका उच्च पदस्थ कर्मचारीहरूले सेवा प्रवेश गर्दा तथा बढुवाका लागि पेस गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिनको मागसहित आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा भएको अनुसन्धानबाट चौधरीले विभागमा राष्ट्रसेवक पदमा कार्यरत रहँदा बढुवा तथा पदस्थापनसमेत हुने प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार चौधरीले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए (आई.ए.) तहको मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेट लगायतका झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी प्रमुख अनुसन्धान अधिकृत (राजपत्राङ्कित द्वितीय श्रेणी) पदसम्म बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ र सुविधासमेत लिएको अनुसन्धानबाट खुलेको छ ।
उक्त कसुरमा आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ । साथै, साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग गर्दै बिहीबार (२०८३ मङ्सिर ३ गते) विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।


