ममता काफ्ले हत्या प्रकरण: नरेश भट्टको अमेरिकी नागरिकता खारेज हुन सक्ने

काठमाडौँ । नर्स ममता काफ्ले भट्टको हत्यामा दोषी ठहरिएका नरेश भट्टको अमेरिकी नागरिकता खारेज हुन सक्ने कानुनी सम्भावना देखिएको छ ।

भर्जिनियाको एक अदालतमा बयान दिने क्रममा भट्टले आफू भारतको नयाँ दिल्लीमा जन्मिएको बताएका थिए । तर, उनको अमेरिकी नागरिकताको आवेदनमा भने जन्मस्थान नेपाल उल्लेख गरिएको सरकारी वकिलहरूले दाबी गरेका छन् । अमेरिकी कानुन अनुसार नागरिकता प्राप्त गर्दा दिइएको विवरण झुटो ठहरिएमा त्यस्तो नागरिकता खारेज हुन सक्ने प्रावधान रहेको छ ।

भट्टले डाइभर्सिटी भिसा (डिभी) मार्फत ग्रिनकार्ड प्राप्त गरेको र पछि अमेरिकी सेनामा भर्ती भएर नागरिकता लिएको खुलेको छ । डिभी कार्यक्रममा सहभागी हुनका लागि आवेदक योग्य देशमा जन्मिएको हुनुपर्ने अनिवार्य सर्त हुन्छ । भारत डिभीका लागि अयोग्य देशको सूचीमा रहेको र नेपाल योग्य रहेको अवस्थामा जन्मस्थान लुकाएर आवेदन दिएको पाइएमा त्यसलाई गम्भीर कानुनी त्रुटि मानिन्छ ।

अमेरिकी अध्यागमन कानुनमा ‘डिनेचुरलाइजेसन’ प्रक्रिया मार्फत नागरिकता रद्द गर्न सकिने व्यवस्था छ । यसका लागि सरकारले अदालतमा स्पष्ट र विश्वासयोग्य प्रमाण पेस गर्नुपर्ने हुन्छ । यदि कुनै व्यक्तिले ठगी गरेर वा महत्त्वपूर्ण तथ्य लुकाएर नागरिकता लिएको पुष्टि भएमा संघीय अदालतले नागरिकता खारेज गर्ने आदेश दिन सक्छ ।

भट्टको हकमा हत्याको अभियोगमा दोषी ठहर हुनु र नागरिकताको विवरणमा भिन्नता देखिनुले उनलाई थप कानुनी संकटमा पारेको छ । उनले सन् २०१७ मा अमेरिकी सेनाको रिजर्भमा भर्ती भएर नागरिकता प्राप्त गरेका थिए । सेनाको माध्यमबाट नागरिकता लिँदा पनि सुरुवाती ग्रिनकार्डको वैधानिकता र आवेदकको नैतिक चरित्र प्रमुख आधार हुने कानुनी व्याख्या रहेको छ ।

अदालतले भट्टलाई पहिलो डिग्रीको हत्यासहितका अभियोगमा दोषी ठहर गरिसकेको छ भने आगामी सन् २०२७ मार्च १२ मा उनलाई सजाय सुनाइने तय भएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज