काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यसहित तयार पारिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा अघि बढेको छ र यसमा अर्थ मन्त्रालयले औपचारिक सहमति प्रदान गरिसकेको छ।
सरकारले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रलाई कानुनी दायरामा ल्याउन यसअघि ल्याएको अध्यादेशका प्रावधानहरू र थप विषयहरू समावेश गरेर नयाँ विधेयकको मस्यौदा तयार पारेको हो।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको त्रैमासिक कार्यप्रगति विवरणमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक, २०८३ मा सहमति प्रदान गरिएको उल्लेख छ।
प्रस्तावित विधेयकले साविकको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलाई पुनर्संरचना गरी नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानको रूपमा स्थापित गर्ने तथा अनुसन्धान र इनोभेसन ल्याब स्थापना गर्ने कानुनी व्यवस्था समेटेको छ।

