भैरहवा, २६ असोज । रूपन्देही जिल्लाका विभिन्न स्थानमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी देउसी भैलो कार्यक्रममा अछिल्लो नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार २०८३ साल असोज २६ गते राति करिब १२:०५ बजेको समयमा इलाका प्रहरी कार्यालय लुम्बिनी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जिल्ला रूपन्देही देवदह नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० को चाहना थापा र जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं. ३ बस्ने वर्ष २१ को प्रासी बस्नेत रहेका छन्।
परम्परागत देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षणको विरुद्ध स्वेच्छाचारी र अमर्यादित तवरले अछिल्लो नृत्य, गीत तथा सङ्गीत प्रदर्शन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।


