काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि न्यायपरिषद्बाट सिफारिस भएका चारै जना प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ।
सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकले न्यायपरिषद्द्वारा सिफारिस उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, साथै चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो।
यसअघि न्यायपरिषद्ले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो भने प्रस्तावित न्यायाधीशहरूविरुद्ध समितिमा कुल १३ वटा उजुरीहरू दर्ता भएका थिए। शुक्रबार र शनिबार गरी दुई दिनसम्म सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको संसदीय सुनुवाइ कार्य सम्पन्न भएको थियो।
समितिको बैठकमा परेका उजुरीहरूबारे विस्तृत छलफल गर्नुका साथै प्रस्तावित न्यायाधीशहरूको कार्यक्षमता र योग्यतामाथि प्रश्नोत्तर गरिएको थियो। उजुरीउपरको छलफल र सुनुवाइ प्रक्रिया सफलतापूर्वक सकाएपछि समितिले चारै जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्य ठहर गर्दै अनुमोदन गरेको हो। समितिबाट नाम अनुमोदन भएसँगै अब संवैधानिक प्रक्रिया पूरा गरी उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिको बाटो खुलेको छ।

