सर्वोच्चमा २६ हजारभन्दा बढी मुद्दा: सुधारको कार्ययोजनासहित प्रस्तुत भए प्रस्तावित न्यायाधीश पाण्डे

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धि, निष्पक्ष न्याय सम्पादन र मुद्दाको चाप व्यवस्थापनका लागि आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। संसदीय सुनुवाइ समितिमा पेस गरिएको कार्ययोजनामा उनले न्यायको गुणस्तर र समयबद्धतालाई मुख्य प्राथमिकतामा राखेका छन्।

प्रस्तुत कार्ययोजना अनुसार हाल सर्वोच्च अदालतमा २६ हजार ६९७ वटा मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये दुई वर्ष नाघेका ९ हजार ९४९ र पाँच वर्ष नाघेका १ हजार २५५ वटा मुद्दा रहेका छन्। सर्वोच्च अदालतमा देखिएको अत्यधिक मुद्दाको चाप र ढिलासुस्तीलाई सम्बोधन गर्न इजलासको प्रभावकारिता बढाउने र अनावश्यक स्थगनलाई पूर्ण रूपमा नियन्त्रण गर्ने योजना पाण्डेले अघि सार्नुभएको छ।

कार्ययोजनामा न्यायलाई केवल मुद्दा फछर्छौटको सङ्ख्यामा नभई गुणस्तर, निष्पक्षता र सेवाग्राहीले अनुभव गर्ने वास्तविक न्यायका आधारमा मूल्याङ्कन गर्नुपर्ने उल्लेख छ। उनले तथ्य र प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन, कारणयुक्त फैसला, नजिरहरूको सुसङ्गत प्रयोग तथा लागू आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

न्यायपालिकाको दीर्घकालीन सुधारका लागि न्यायाधीशहरूको व्यक्तिगत आचरणदेखि संस्थागत प्रशासनिक सुधारसम्ममा समन्वय गरी अघि बढ्ने उनको योजना छ। सङ्ख्यात्मक रूपमा मुद्दाहरूको भार घटाउँदै जनतालाई छिटो, सुलभ र विश्वसनीय न्यायको अनुभूति गराउन आफू कटिबद्ध रहने पाण्डेले स्पष्ट पारेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज