काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कानुनी कारण र आधार पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
बुधबार (१४ असोज) न्यायाधीश हरि फुयालको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।
अभियन्ता प्रसाईंलाई पछिल्लो पटक गत असोज १२ गते साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक र मर्यादाविपरीत अभिव्यक्ति दिएको अभियोगमा परेको उजुरीका आधारमा ब्युरोले उनलाई पक्राउ पुर्जीसहित नियन्त्रणमा लिएको थियो।

