काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सुविधा र आसन्न बडादशैँका समयमा बैंकहरूमा हुने भिड व्यवस्थापनलाई ध्यानमा राख्दै एटीएम (ATM) मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै हाल एटीएम मेसिनहरूबाट ५०० र १,००० रुपैयाँ दरका नोट मात्र वितरण भइरहेकोमा अब १०० रुपैयाँ दरका नोट पनि वितरण गर्न अनुरोध गरेको हो। नजिकिँदै गरेको महान् चाड बडादशैँको अवसरमा बैंकहरूमा साना दरका नोट साट्ने ग्राहकहरूको उल्लेख्य भिड हुने भएकाले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन सकिएमा बैंकहरूमा हुने चाप कम हुने केन्द्रीय बैंकको आँकलन छ।
यस सम्बन्धमा केही बैंकहरूसँग मौखिक जानकारी लिँदा प्राविधिक रूपमा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था मिलाउन सकिने देखिएकाले सोही अनुसार सहजीकरण गरिदिन राष्ट्र बैंकले अनुरोध गरेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालद्वारा हस्ताक्षरित पत्रको बोधार्थ डेभलपमेण्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको छ।


