गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने सांसद बब्लु गुप्तालाई ट्राफिक कारबाही

काठमाडौं । गुडिरहेको मोटरसाइकलको पछाडि जोखिमपूर्ण रूपमा उभिएर भिडियो बनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता अन्ततः ट्राफिक कारबाहीमा परेका छन् । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ताले ट्राफिक नियमको धज्जी उडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले उनलाई ५ सय रुपैयाँ जरिबाना तिराएको हो ।

सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिले नै खुलेआम सुरक्षा मापदण्ड र ट्राफिक नियम उल्लंघन गरेपछि सर्वसाधारणले चर्को विरोध गरेका थिए । भाइरल भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि सिटमा नबसी ठाडो भएर उभिएका र मोबाइलमार्फत भिडियो खिरेका दृश्यहरू प्रष्ट देखिन्थ्येड् । कानुन बनाउने ठाउँमा बसेका सांसद नै यसरी सडक सुरक्षालाई उपेक्षा गरेर जोखिमपूर्ण स्टेन्टबाजीमा उत्रेपछि सामाजिक सञ्जालमा उनीमाथि नैतिक र कानुनी प्रश्नहरूको वर्षा भएको थियो ।

कानुनको नजरमा सबै नागरिक समान हुनुपर्ने आवाज उठेपछि ट्राफिक प्रहरीले तत्काल कदम चालेको हो । चौतर्फी आलोचना र जनदबाब बढेपछि सांसद गुप्ता आफैं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानमा उपस्थित भएर तोकिएको जरिबाना रकम बुझाएका छन् ।

कारबाहीमा परेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो त्रुटि स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । आफ्नो गृहक्षेत्र वा बाल्यकालको ठाउँमा पुग्दा पुरानो स्मृतिमा रमाइलो गर्दा अनपेक्षित रूपमा गल्ती हुन पुगेको स्पष्टीकरण उनले दिएका छन् । आफूबाट जानी वा नजानी गल्ती भएको भन्दै उनले आगामी दिनमा यस्ता लापरबाहीपूर्ण गतिविधि दोहोर्या नदिने र आफ्नो सम्पूर्ण ऊर्जा देश तथा जनताको हितमा लगाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । तर, सामाजिक सञ्जालमा भने ५ सय रुपैयाँको सामान्य जरिबानाले मात्रै जनप्रतिनिधिको लापर्बाही दण्डित नहुने भन्दै कतिपयले अझ कडा कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरिरहेका छन् ।

यस प्रकारका घटनाहरूमा जनप्रतिनिधिहरू नै विवादमा आउने यो पहिलो पटक भने होइन । यसअघि पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले उनलाई ५ सय रुपैयाँ जरिबाना तिराएको थियो भने श्रम संस्कृति पार्टीका नेता हर्कराज राई (हर्क साम्पाङ) लाई पनि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीको दायरामा ल्याइएको थियो । पछिल्लो समय देशका जिम्मेवार पदमा आसिन व्यक्तिहरू नै सडक सुरक्षाका सामान्य नियम पालना गर्न चुक्ने प्रवृत्ति बढ्दै गएको छ जसले आम नागरिकमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज