शेखर गोल्छालाई हिरासतमा नराख्न जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ। न्यायाधीश मोना सिंहको इजलासले वैशाख २३ गते पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएसँगै अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई हिरासतमुक्त गरेर अनुसन्धान अघि बढाउनुपर्ने भएको छ।

प्रतिवादी गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम थुनामा राखेर अनुसन्धान गर्न म्याद दिन नमिल्ने अदालतको ठहर छ।

यसअघि सोमबार मात्रै सर्वोच्च अदालतले धितोपत्र कसुरको अनुसन्धानमा धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखिएको भनी प्रश्न उठाउँदै गोल्छालाई छाड्न आदेश दिएको थियो। सर्वोच्चको सो आदेश लगत्तै सीआईबीले उनलाई धितोपत्र सम्बन्धी कसुरको साटो बीमासम्बन्धी अर्को कसुरको आरोपमा अनुसन्धान अघि बढाइएको भन्दै रिहा गर्न मानेको थिएन।

सर्वोच्चले बीमासम्बन्धी कसुरमा रिट निवेदनमा मागदाबी नभएको भन्दै त्यसबेला केही बोल्न अस्वीकार गरे पनि अहिले जिल्ला अदालतले सोही कसुरमा म्याद थप्न अस्वीकार गरेपछि गोल्छालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने कानुनी अवस्था सिर्जना भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज