व्यवसायी शेखर गोल्छा हिरासतमै, धितोपत्र ऐनमा धरौटी बुझाए पनि बिमा ऐनको कसुरमा अनुसन्धान सुरु

काठमाडौं। सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा धरौटीमा छाड्न परमादेश दिए पनि व्यवसायी शेखर गोल्छा हिरासतमै रहने भएका छन्। सोमबार सर्वोच्चको आदेश अनुसार गोल्छाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा ५ लाख रुपैयाँ धरौटी बुझाएका थिए , तर उनीमाथि बिमा ऐन, २०७९ अनुसार अर्को कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो।

सिआइबी प्रमुख एवं एआइजी मनोज केसीका अनुसार धितोपत्र ऐन अन्तर्गत धरौटी लिइए पनि बिमा ऐनको कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।

प्रहरीले यसअघि नै गोल्छाविरुद्ध बिमा ऐन अनुसार पक्राउ अनुमति लिएको भए पनि सो कसुरमा म्याद थप भइसकेको थिएन। सर्वोच्च अदालतले पनि आफ्नो आदेशमा बिमा ऐनको कसुरमा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान भएको तर सो सम्बन्धमा निवेदनमा कुनै जिकिर नरहेकाले त्यस विषयमा बोलिरहनु नपर्ने उल्लेख गरेको थियो।

व्यवसायी दीपक भट्टसँगको सम्बन्ध र धितोपत्र बोर्डको प्रतिवेदनका आधारमा सिआइबीले गोल्छालाई वैशाख १० गते पक्राउ गरेको थियो। सर्वोच्चले प्रहरीले यसअघि दुई पटक थपेको म्याद बदर गरिदिए पनि अर्को कसुरको अनुसन्धानका लागि उनी हिरासतमुक्त हुन सकेका छैनन्।

सम्बन्धित समाचार

ताजा न्यूज