फिल्म ‘लालीबजार’ को सेन्सर फाइल झिकाउन उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ को विवादमा केन्द्रीय चलचित्र जाँच (सेन्सर) समितिको सक्कल फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै प्रदर्शन अनुमति दिने प्रक्रियासँग सम्बन्धित सक्कल कागजात पेस गर्न आदेश दिएको हो।

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार यसअघि वैशाख २२ गतेसम्मका लागि दिइएको प्रदर्शन रोक्ने अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिइएको छ। वादी रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादमा गम्भीर आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्, जसमाथि सुनुवाइ गर्दै अदालतले वैशाख १५ गते नै तत्कालका लागि प्रदर्शन रोक्न आदेश दिएको थियो।

यम थापाको निर्देशनमा बनेको यो फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहे पनि अदालतको कानुनी उल्झनका कारण रोकिएको हो। बुधबार सेन्सर बोर्डको फाइल प्राप्त भएपछि अदालतले दुवै पक्षबीच छलफल गरी प्रदर्शनको विषयमा थप निर्णय लिने भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज