बुढानीलकण्ठमा घरै भाडामा लिएर सुन प्रशोधन: साढे २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ

काठमाडौँ । बुढानीलकण्ठस्थित चपलीमा घर भाडामा लिएर अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब २२ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शङ्कास्पद गतिविधिको गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा २१ किलो ७५० ग्राम सुनका साथै सुन गाल्न प्रयोग गरिने मेसिन र केमिकलहरू बरामद गरिएको हो।

प्रहरी टोली पुग्दा चिनियाँ नागरिकहरू गाडीमा निस्किनै लागेका थिए। शङ्कास्पद गाडी रोकेर जाँच गर्दा सुरुमा करिब दुई किलो सुन फेला परेको थियो। त्यसपछि घरभित्र प्रवेश गर्दा ती चिनियाँ नागरिकहरूले लुटेरा वा अन्य कोही ठानेर प्रहरीमाथि जाइलाग्ने प्रयास गरे पनि प्रहरी टोलीले आफ्नो परिचय गराएपछि नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नेहरूमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ समूहले अर्धठोस अवस्थामा सुन तस्करी गरी नेपाल भित्र्याउने र भाडामा लिएको घरमा मेसिन तथा केमिकलको प्रयोग गरी बिस्कुटको आकार दिने गरेको खुलेको छ। बरामद कुल सुनमध्ये तयारी अवस्थामा रहेका ११ वटा पिसको तौल १०.९९७ किलो र प्लास्टिकमा राखिएको अर्धठोस सुनको तौल १०.७५२ किलो रहेको छ। उक्त सुन हङकङबाट हवाई मार्गमार्फत भित्र्याइएको हुन सक्ने प्रहरीको आशङ्का छ।

सम्बन्धित समाचार

ताजा न्यूज