कागजी योजना र ‘तत्काल समन्वय’ बीचको अलमल: न्यायिक सुशासन केन्द्रका ७३१ गुनासोमा ५५ प्रतिशत अझै अनिर्णीत

काठमाडौँ । प्रधानन्यायाधीशको सचिवालयअन्तर्गत स्थापना गरिएको ‘न्यायिक सुशासन केन्द्र’ मा चार महिनाको अवधिमा ७३१ वटा गुनासो दर्ता भए पनि करिब ५५ प्रतिशत गुनासो अझै फछ्यौट हुन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। २०८३ असार १ देखि कात्तिक ३० गतेसम्म प्राप्त कुल गुनासोमध्ये ३२९ वटा अर्थात् करिब ४५ प्रतिशत गुनासो मात्र प्रारम्भिक चरणमै टुङ्गिएका छन् भने करिब १९० वटा प्रक्रियामा रहेका छन् र बाँकी ठुलो हिस्सा सम्बोधन गर्न नसकिने वा संस्थागत सुधारको खाँचो औँल्याउने प्रकृतिका देखिएका छन्।

संसदीय सुनुवाइ समितिमा पेस गरिएको कार्ययोजना, मातहतका अदालतलाई दिइएको २१ बुँदे निर्देशनको सातौँ बुँदा, न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा सर्वोच्च अदालत नियमावली, २०७४ को पृष्ठभूमिमा २०८३ असार ३२ गतेको निर्णयअनुसार केन्द्र सञ्चालनमा ल्याइएको हो। गुनासोमा हुने दोहोरोपन हटाउनेदेखि ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्र पहिचान गरी सुधारको प्रतिवेदन पेस गर्नेसम्मका महत्त्वाकाङ्क्षी उद्देश्य केन्द्रलाई दिइए पनि शुरुआती कार्यसम्पादन भने मुख्यतः ‘फोन समन्वय’ र सामान्य सहजीकरणमै सीमित देखिएको विवरणले देखाउँछ।

केन्द्रमा आएका गुनासोहरूको प्रकृति केलाउँदा सेवाग्राहीका अपेक्षा र न्यायिक प्रणालीको व्यावहारिक सीमाबीचको खाडल प्रस्ट देखिन्छ। प्राप्त गुनासोमध्ये सबैभन्दा धेरै सेवा प्रवाहसँग जोडिएका छन् भने कर्मचारी, न्यायाधीश र फैसला कार्यान्वयनसँग सम्बन्धित उजुरी पनि छन्। तर, कतिपय गुनासाको विवरण अस्पष्ट भएकाले कारबाही गर्न नसकिने अवस्था छ भने कतिपय उजुरी न्यायपालिकाको कार्यक्षेत्रभन्दा बाहिरका छन्।

अझ संवेदनशील पक्ष के छ भने प्रारम्भिक चरणमा फछ्यौट भएका ३२९ र प्रक्रियामा रहेका करिब १९० गुनासोबाहेक बाँकी अधिकांश गुनासो पेशीको पालो नआएको, हेर्न नभ्याइने, हेर्न नमिल्ने वा फैसलामा चित्त नबुझेको जस्ता विषयसँग सम्बन्धित छन्, जसलाई केन्द्रले ‘सम्बोधन गर्न नसकिने, संस्थागत सुधार गर्नुपर्ने र सुझाव प्रकृतिका’ भनी वर्गीकरण गरेको छ। यसले न्यायिक प्रक्रियामा देखिने ढिलाइ र फैसलाप्रतिको असन्तुष्टि सम्बोधन गर्ने संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

सेवाग्राहीले प्रयोग गरेका माध्यम हेर्दा न्यायपालिकाको आफ्नै प्रत्यक्ष संयन्त्रभन्दा बाहिरको प्लेटफर्म बढी प्रयोग भएको देखिन्छ। कुल ७३१ गुनासोमध्ये सबैभन्दा बढी २१६ वटा ‘हेलो सरकार’ मार्फत आएका छन्। त्यसपछि भौतिक उपस्थितिबाट १६८, ईमेलबाट १०६, ह्वाट्सएपबाट ८८, टोल फ्रीबाट ७९ र हुलाकमार्फत ७४ वटा गुनासो दर्ता भएका छन्। विद्युतीय माध्यमको प्रयोग बढ्दो देखिए पनि सेवाग्राहीले सीधै अदालतको संयन्त्रभन्दा बाहिरबाट उजुरी पठाउने प्रवृत्ति कायमै छ।

केन्द्रले प्रस्तुत गरेका चारवटा उदाहरणले केन्द्रको हस्तक्षेपबाट तत्काल राहत मिलेको देखाए पनि ती घटनाले अदालतभित्रका प्रशासनिक र व्यवस्थापकीय कमजोरीलाई समेत सतहमा ल्याएका छन्। काठमाडौँ जिल्ला अदालतमा संशोधित कैदी पूर्जी लिन सेवाग्राही १५ पटक धाउँदा पनि काम नभएको गुनासोपछि फोन समन्वयबाट सोही दिन काम भएको उदाहरण छ। त्यसैगरी, मुद्दाको आदेशानुसार बकपत्र लिँदा पक्ष र कानून व्यवसायीले भनेबमोजिम नलेखेको भन्दै ज्यान मार्ने धम्की आएको गुनासोपछि महोत्तरी जिल्ला अदालतका एक नासु कर्मचारीलाई सर्वोच्च अदालतमा काज सरुवा गरिएको छ।

नुवाकोट जिल्ला अदालतमा जरिवाना तिरेर लगत कट्टा नहुँदा काठमाडौँमा सुविधा नपाइएको गुनासोमा बुझ्दा ढड्डामा कट्टा भए पनि कम्प्युटरमा लगत कट्टा गर्ने तहसिलदार भोटेकोशी बाढीको प्रकोपमा आफन्त परेकाले घर गएको कारण काम अड्किएको पाइएको थियो। एकै अधिकारीमा निर्भर रहने र वैकल्पिक व्यवस्था कमजोर हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको यो घटनाले प्रणालीगत निर्भरताको जोखिम देखाउँछ। त्यस्तै, काठमाडौँ जिल्ला अदालतको फाँट नम्बर २६ मा अडियो लिपिबद्ध गर्दा मुख्य भाग छुटाएको गुनासोपछि अनुगमन टोली खटिएको र स्रेस्तेदारले आफैँ अडियो सुनेर प्रमाणिकरण गर्ने प्रतिबद्धता जनाएका छन्।

शाखा अधिकृत विवेक पाठकद्वारा तयार पारिएको संक्षिप्त विवरणले प्राप्त गुनासोको विश्लेषणबाट सुधार आवश्यक क्षेत्र पहिचान भएको उल्लेख गर्दै आगामी दिनमा प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। यद्यपि, दर्ता भएकामध्ये आधाभन्दा बढी गुनासो अझै टुङ्गिन बाँकी रहेको अवस्थामा केन्द्रको भूमिकालाई केवल तत्कालको मध्यस्थतामा सीमित नराखी दीर्घकालीन संस्थागत सुधारसँग कसरी जोडिन्छ भन्ने मुख्य परीक्षा अझै बाँकी छ।

  • प्राविधिक त्रुटी भएकोले समाचार पुनः लेखन गरि शिर्षक सच्याइएको छ ।-सम्पादक
यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज