काठमाडौँ । कानूनी परामर्शका लागि कानून व्यवसायीको कार्यालयमा पुगेका सेवाग्राहीलाई प्रहरीले कार्यालयभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको घटनाप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एसोसिएसनले मङ्सिर १० गते एक प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ९ गते काठमाडौँ महानगरपालिका वडा नम्बर २९, कालिकास्थानस्थित ‘जन चेतना ल फर्म’ भित्र भएको उक्त कार्यको विरोध गरेको हो।
नेपाल बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानूनी परामर्श तथा छलफल भइरहेको अवस्थामा सेवाग्राहीका महत्त्वपूर्ण कागजात र अभिलेख रहने ल फर्मजस्तो संवेदनशील स्थानमा कानूनबमोजिम प्रवेश गर्ने अनुमति नलिई केही व्यक्तिहरू प्रवेश गरेको उल्लेख छ। आफू सिभिल प्रहरी भएको परिचय दिँदै फर्ममा प्रवेश गरेका ती व्यक्तिहरूले फर्ममा आबद्ध कानून व्यवसायीहरूसँग अमर्यादित एवम् असभ्य व्यवहार समेत गरेको भन्दै बारले उक्त गैरकानूनी कार्यको विरोध गरेको छ।
सेवाग्राहीले कानून व्यवसायीसँग कानूनी परामर्श लिन पाउने संवैधानिक एवम् कानूनी हक अधिकारमाथि हस्तक्षेप हुने गरी प्रहरी कर्मचारीहरू ल फर्मभित्र अनधिकृत रूपमा प्रवेश गर्ने कार्यले कानूनी शासन र कानून व्यवसायीको पेसागत गोप्यता एवम् मर्यादामाथि गम्भीर आघात पुर्याएको बारको ठहर छ। विज्ञप्तिमार्फत बारले उक्त गैरकानूनी कार्यमा संलग्न दोषीलाई यथाशीघ्र आवश्यक कारबाही गरी अब उप्रान्त यस्ता दुःखद् घटना नदोहोरिन दिन सम्बद्ध निकायको ध्यानाकर्षण समेत गराएको छ।


