काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८ औँ बैठकले कानूनी प्रक्रिया पूरा गरी बेपत्ता व्यक्तिको मृत्यु घोषणाको सिफारिस गर्ने निर्णय गरेको हो।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) ले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने कानूनी व्यवस्था गरेको छ। सोही कानूनी प्रावधानअनुसार ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना स्वदेशी नागरिक तथा १९ वटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत्यु घोषणा गर्न सिफारिस गरिएको समितिले जनाएको छ। यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वदेशीको हकमा स्थानीय तहको सिफारिस र जिल्ला समितिको निर्णयका आधारमा तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित वा नेपाल हेर्ने नियोगबाट प्राप्त सूचीमा दाबी विरोधका लागि दुई चरणमा सात दिने सार्वजनिक सूचना जारी गरेको थियो।
कानूनी रूपमा मृत्यु घोषणा भएपछि बेपत्ता परिवारका सदस्यहरूलाई मृत्यु दर्ता, सम्पत्ति तथा वित्तीय कारोबार व्यवस्थापन, राहत तथा बीमा प्रक्रियामा उत्पन्न कानूनी अड्चन फुकाउन सहज हुने अपेक्षा गरिएको छ।
बैठकले कानूनी तथा नीतिगत सुधारसँगै विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको छ। समितिले विसं २०८७ सम्म सबै समुदायमा प्रकोप पूर्वसूचना पुर्याउने उद्देश्यसहित बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र सञ्चालन गर्न ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र २०८३/०८७’ स्वीकृत गरेको छ। त्यसैगरी वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना, २०८३/८४–२०९१/९२ तथा वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ समेत बैठकबाट स्वीकृत भएका छन्।
यसका साथै जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरणतर्फ कदम चाल्दै बैठकले डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका र माला गाउँका २४ घरधुरी तथा वडा नं. २ को बलौचा गाउँका २२ घरधुरीलाई सोही गाउँपालिकाका सुरक्षित स्थानमा सार्ने स्वीकृति दिएको छ। त्यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही नगरको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्ने निर्णय भएको छ।

