काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको छ । अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले हेटौंडाको सानोपोखरास्थित उनको निवास र बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालयमा खानतलासी गरी आवश्यक कागजातहरू नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार विभागले हेटौंडाका साथै काठमाडौंको नक्साल र सुन्धारामा रहेका बानियाँका ठेगानाहरूमा पनि छापा मारेको छ । उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू देखिएपछि विभागले सुक्ष्म अनुसन्धान अघि बढाएको बुझिएको छ । छापा मार्ने क्रममा विभागको टोलीले घरबाट विभिन्न कागजात र प्रमाणहरू संकलन गर्नुका साथै स्थानीय सर्जिमिनसहितको मुचुल्का समेत तयार पारेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका मुख्यमन्त्री बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय थिए । हाल पनि उनको विभिन्न व्यावसायिक कम्पनीहरूमा ठूलो लगानी रहेको छ । अस्वभाविक आर्थिक कारोबारको आशंकामा सुरु भएको यो अनुसन्धानले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरेको छ ।

