सेयर खरिदमा भएको भित्री लेनदेनको खोजी: ८ कम्पनीका संस्थापकसँग विभागले माग्यो प्रिमियमको हिसाब

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्ससहित ८ वटा बिमा कम्पनीका संस्थापक सेयरधनीहरूले सेयर खरिदका क्रममा बुझाएको अतिरिक्त शुल्क (प्रिमियम) को विवरण माग गरेको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयर प्राप्त गर्नका लागि चुक्ता पुँजीबाहेक अन्य व्यक्ति वा संस्थाको बैंक खातामा पठाइएको रकमको पूर्ण विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो।

विभागको अनुसन्धानको घेरामा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेका छन्। यी कम्पनीका संस्थापकहरूले सेयरबापत कम्पनीको आधिकारिक खातामा बुझाएको रकमबाहेक ‘प्रिमियम’ भन्दै कसलाई, कति रकम र कुन बैंक खातामार्फत भुक्तानी गरेका हुन्, त्यसको स्पष्ट जानकारी विभागलाई दिनुपर्नेछ।

अनुसन्धानका क्रममा विभागले भुक्तानी गरिएको रकमको परिमाण, प्राप्त गर्ने व्यक्तिको नाम, बैंकको नाम र खाता नम्बरसहितका सबै तथ्यहरू फरक नपर्ने गरी उपलब्ध गराउन भनेको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विवरण बुझाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै विभागले संस्थापक सेयर खरिदमा हुनसक्ने आर्थिक अनियमितता र स्रोत नखुलेको धनको प्रयोगमाथि सूक्ष्म निगरानी बढाएको संकेत दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज