अध्यादेश ल्याउनु बहादुरी होइन, संविधानको मर्ममाथि प्रहार हो: सांसद गणेश कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले सरकारले संसद अधिवेशन छलेर अध्यादेश ल्याउने तयारी गरेको प्रति कडा आपत्ति जनाउनुभएको छ। दुई-तिहाइ बहुमत नजिक रहेको सरकारले संसदलाई छलेर अध्यादेशको बाटो रोज्नु ‘बहादुरी’ नभएको उहाँको टिप्पणी छ। विगतमा अन्य सरकारले अध्यादेश ल्याउँदा विरोध जनाउनुभएका कार्कीलाई सामाजिक सञ्जालमा उहाँकै पुराना स्टाटस मेन्सन गर्दै प्रश्न गरिएपछि उहाँले स्पष्टीकरणसहित आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।

सांसद कार्कीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै झन्डै दुई-तिहाइ ल्याएको पार्टीका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ने बताउनुभएको छ। उहाँले अध्यादेश ल्याउनु कानुनी रूपमा संविधानको अक्षरमा आधारित देखिए पनि त्यो संविधानको भावना विपरीत रहेको तर्क गर्नुभएको छ। उहाँका अनुसार संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो र संविधानका अक्षरले यसको मर्मलाई सीमित गर्नु हुँदैन।

आफ्नो मौनतामाथि प्रश्न उठाउने शुभेच्छुकहरूप्रति सम्मान व्यक्त गर्दै कार्कीले विपक्षी दलले अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरू आज पनि उत्तिकै सान्दर्भिक र जीवित रहेको प्रस्ट पार्नुभएको छ। उहाँले विगतमा लेख्नुभएको थियो कि सरकार उज्यालोबाट डराउँछ र मध्यरातमा मन्त्रिपरिषद्को बैठक बस्छ। सरकार संसददेखि डराउँछ र अध्यादेशबाट मुलुक चलाउने दुस्साहस गर्छ। उहाँले थप उल्लेख गर्नुभएको छ कि सरकार चलाउने नागरिकको छनोटसँग आत्तिन्छ र आफू निर्विकल्प हुने सपना देख्दै दुई दलीय व्यवस्थाको वकालत गर्छ।

सांसद कार्कीले विधिको प्रश्न र जवाफदेहीता खोज्ने नागरिक र साथीहरूका कारण आफूलाई गौरव महसुस भएको बताउनुभएको छ। सरकारले लोकतन्त्र, सुशासन र संविधान संशोधनको कुरा गरे पनि व्यवहारमा भने संसदको अधिवेशन माग भइरहेका बेला अध्यादेशको सूची तयार पार्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको उहाँको ठहर छ। हाल सरकारले कुन-कुन विषयमा अध्यादेश ल्याउन लागेको हो भन्ने स्पष्ट नभए पनि कार्कीको यो अभिव्यक्तिले सत्ता पक्षभित्रै र समर्थकहरूमाझ पनि अध्यादेशको विषयले गम्भीर बहस सिर्जना गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज