आङदेम्बेको चयनसँगै संवैधानिक परिषद्ले पायो पूर्णता, प्रधानन्यायाधीश नियुक्तिको बाटो अब खुला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै लामो समयदेखि अपूर्ण रहेको संवैधानिक परिषद्ले पूर्णता पाएको छ। प्रतिनिधि सभा निर्वाचन भएको डेढ महिनापछि सोमबार कांग्रेसले आङदेम्बेलाई दलको नेता चुनेपछि परिषद्मा विपक्षी दलको नेताको रिक्तता हटेको हो।

यसअघि कांग्रेसले दलको नेता छान्न ढिलाइ गर्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन, जसका कारण प्रधानन्यायाधीशको स्थायी नियुक्ति प्रक्रिया समेत प्रभावित हुँदै आएको थियो। हाल सर्वोच्च अदालतमा सपना प्रधानले कायममुकायम प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ।

संवैधानिक परिषद्ले पूर्णता पाएसँगै अब नयाँ प्रधानन्यायाधीशसहित अन्य संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गर्ने बाटो प्रशस्त भएको छ। संविधानको धारा २८४ अनुसार गठित यस परिषद्को अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् भने सदस्यहरूमा सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुबी ठाकुर र विपक्षी दलका नेता भीष्मराज आङदेम्बे रहनेछन्। परिषद्को आगामी बैठकले सिफारिस गर्ने प्रधानन्यायाधीशको नाम संसदीय सुनुवाइ समितिको दुई तिहाइ सदस्यबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। परिषद्को पहिलो बैठकमा कानुन मन्त्रीको समेत सहभागिता रहने प्रावधान रहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज