उद्यमी शेखर गोल्छा सीआईबीद्वारा पक्राउ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित उद्याेगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख एआईजी डा. मनोज केसीका अनुसार गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा विभिन्न बीमा कम्पनीहरूको फन्ड प्रयोग गरेर सेयर बजारमा अनुचित चलखेल गरिएको उल्लेख छ।

अनुसन्धानका क्रममा विवादित व्यवसायी दीपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गरी त्यसको कृत्रिम मूल्य बढाएर विभिन्न बीमा कम्पनीहरूलाई बिक्री गर्ने गरेको तथ्य खुलेको छ। यस प्रकरणमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचान मुख्य पात्रका रूपमा देखिएका छन्। उनीहरूले धितोपत्र बजार प्रभावित पार्ने र जालसाजीयुक्त कारोबार गरेको बोर्डको निष्कर्ष छ। भट्ट हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन् भने चाचान अझै पक्राउ परेका छैनन्। सोही अवैध कार्यमा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गोल्छासहित रोहित गुप्ता, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह विरुद्ध समेत अनुसन्धान अघि बढेको हो।

यसबाहेक हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड र एचएलआई लार्ज क्याप फन्ड जस्ता संस्थाहरू समेत यो अनियमिततामा संलग्न रहेको बोर्डको प्रतिवेदनमा उल्लेख छ। नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउन सक्रिय भूमिका खेलेका यी व्यक्ति र संस्थाहरूमाथि थप अनुसन्धान गर्न बोर्डले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो। पक्राउ परेका गोल्छा र अन्य संलग्नहरूमाथि अहिले सीआईबीले विस्तृत अनुसन्धान सुरु गरेको छ। यस प्रकरणमा मुछिएकी शुभी अग्रवाल हाल हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज