काठमाडौं । लुम्बिनी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्ने सम्बन्धी महत्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। सातौं अधिवेशन अन्तर्गत मंगलबार बसेको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक निर्णयार्थ पेश गर्नुभएको थियो, जसलाई ध्वनिमतका आधारमा सर्वसम्मतिले पारित भएको घोषणा गरियो।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो। दलित समुदायको हक र अधिकारलाई कानूनी रूपमा व्यवस्थित गर्न ल्याइएको यो विधेयक पारित हुनुलाई प्रदेशको सकारात्मक कदमका रूपमा हेरिएको छ।
सोही बैठकमा अन्य महत्वपूर्ण संसदीय प्रतिवेदनहरू समेत पेश गरिएका छन्। कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। त्यसैगरी, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको थियो।

