काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडिएर आएका सेयर र सम्पत्तिसम्बन्धी विवादका विषयमा स्पष्टीकरण दिँदै ती आरोपहरू तथ्यहीन रहेको दाबी गरेका छन्। मन्त्री गुरुङले आफूले २५ लाखको सेयर लुकाएको भन्ने चर्चालाई अस्वीकार गर्दै मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको २ करोडभन्दा बढीको सम्पत्ति विवरणमा ती सेयरहरू पहिले नै वर्गीकरण भएर समेटिएको स्पष्ट पारेका छन्।
बैंकिङ च्यानलमार्फत भएको कारोबार र २०८० साल भदौको ऋण तमसुकले नै लगानीको स्रोत प्रमाणित गर्ने उनको तर्क छ।
विवादास्पद व्यक्तिसँगको साझेदारीका विषयमा बोल्दै गुरुङले एउटा कम्पनीमा धेरै लगानीकर्ता हुने र सेयरधनी हुनुलाई नै व्यक्तिगत साझेदारी वा अपराध मान्न नसकिने बताएका छन्। उनले स्वार्थको द्वन्द्व (Conflict of Interest) को आरोपलाई खण्डन गर्दै यस विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेकाले आफूले कुनै हस्तक्षेप नगरेको उल्लेख गरेका छन्। व्यापारिक लगानीमा भविष्यको जोखिम र घटनाहरू पहिल्यै पूर्वानुमान गर्न नसकिने भन्दै उनले सुविधा अनुसारको व्याख्या नगर्न समेत आग्रह गरेका छन्।
आफ्नो व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतो भन्नु राजनीतिक पूर्वाग्रह मात्र भएको जिकिर गर्दै मन्त्री गुरुङले पार्टीले गर्ने हरेक निर्णय मान्न र अनुसन्धानमा पूर्ण सहयोग गर्न आफू तयार रहेको बताएका छन्। सहीदहरूको बलिदान र आन्दोलनको मर्मप्रति आफू सचेत रहेको उल्लेख गर्दै उनले हल्लाभन्दा पनि प्रमाण र कानुनी सत्यका आधारमा निर्णय हुनुपर्नेमा जोड दिएका छन्।

