काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ आजदेखि लागू गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ सोमबार बिहान १२ बजेदेखि आचारसंहिता कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।
आयोगका अनुसार स्वीकृत आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। आयोगबाट अर्को सूचना जारी नहुन्जेलसम्म आचारसंहिता विभिन्न निकाय र तिनमा कार्यरत पदाधिकारी तथा व्यक्तिहरूमा लागू रहनेछ।
आचारसंहिता नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकाय र तिनका पदाधिकारी, संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीमा लागू हुनेछ। यस्तै, राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू पनि आचारसंहिताको दायरामा पर्नेछन्।
उम्मेदवार, राजनीतिक दलका निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति तथा अनुगमनकर्ताहरूलाई समेत आचारसंहिता पालना गर्नुपर्नेछ। यसका साथै पर्यवेक्षण संस्था र पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्थानका शिक्षक तथा कर्मचारी पनि आचारसंहिताको दायरामा समेटिएका छन्।
मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना र तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक प्रतिष्ठान, वस्तु तथा सेवा प्रदायक संस्थाका पदाधिकारी, कर्मचारी र कामदारलाई समेत आचारसंहिता लागू हुनेछ।
निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सबै सरोकारवालाबाट सहयोग अपेक्षित रहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ।

