काठमाडौँ । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्रासहित १५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार मिश्राले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई आर्थिक हानि पुर्याएको ठहर भएको छ। सोही आधारमा आयोगले उनीहरूविरुद्ध १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा पेस गरेको हो।
मिश्रा स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदाको समयमा उपकरण खरिदसम्बन्धी फाइलमा अनियमितता भएको आरोपमा मुछिएकी हुन्। आयोगले विस्तृत अनुसन्धानपछि सो फाइललाई भ्रष्टाचार मुद्दाको रूपमा विशेष अदालतमा पठाएको हो।
केही साताअघि हालको जेनजी नेतृत्वको सरकारले उनलाई स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त गर्न सक्ने चर्चाका बीच अख्तियारले मुद्दा दायर गरेको हो।
आयोगले मिश्रासहित संलग्न अन्य अधिकारी र ठेकेदारहरूलाई पनि अनुसन्धानका दायरामा ल्याई अदालतमा मुद्दा अघि बढाएको जनाएको छ।