ढोरपाटनका मेयर देवकुमार नेपालीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा, एक अर्ब ५८ करोड विगो माग

बाग्लुङ। सहकारी ठगी आरोपमा पहिल्यै पुर्पक्षका लागि थुनामा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीमाथि अब सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, बाग्लुङले बिहीबार उनलाई एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित अदालतमा अभियोग दर्ता गरेको हो।

इमेज सहकारी संस्था मार्फत ठगी र गैरकानूनी आम्दानी गरेको ठहरपछि सरकारले नयाँ महान्यायाधिवक्ताको निर्देशनमा मुद्दा अघि बढाएको हो। लामो समय राजनीतिक संरक्षणका कारण रोकिएको यो फाइल डेढ वर्षपछि बल्ल अदालत पुगेको सरकारी स्रोतले जनाएको छ।

सरकारी वकिल पूर्णप्रसाद शर्माका अनुसार, “यसअघि सहकारी ठगीमा मात्रै मुद्दा चलेको थियो, तर सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप अभियोग दर्ता गरिएको हो।”

नेपालमाथि सुरुमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दायर गर्न सिफारिस भएको थियो। तर तत्कालीन सरकारले ठगीसम्बन्धी आरोपमा मात्र मुद्दा चलाएर बाँकी दुई फाइल रोकेको थियो। त्यसबेलाको केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता भएको कारण नेपालीलाई जोगाउने प्रयास गरेको आरोप लगाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करिब तीन अर्ब रुपैयाँ विगो मागदावीसहित फाइल पठाएको भए पनि मिलापत्रमा परेका रकम घटाएर बाग्लुङ सरकारी वकिलको कार्यालयले एक अर्ब ५८ करोडमा सीमित गरेको हो।

नेपालमाथि मुद्दा रोकिएर बसेको कारण तत्कालीन महान्यायाधिवक्ता रमेश बडालमाथि पनि हस्तक्षेपको आरोप लागेको छ। सरकारी वकिल स्रोतका अनुसार, “बडालको निर्देशनमा फाइल अघि बढ्न रोकिएको थियो, अहिले नयाँ महान्यायाधिवक्ताको सक्रियतामा मात्रै मुद्दा दर्ता भएको हो।”

देवकुमार नेपाली माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका नेता हुन्। उनले २०६८ सालमा इमेज सहकारी स्थापना गरेर ठूलो रकम संकलन गरेको र पछि रकम हिनामिना गरेको आरोप छ। उनी पोखराको सूर्यदर्शन सहकारी विवादपछि बाग्लुङमा सरेका थिए।

२०७८ सालमा सहकारी ठगीको मुद्दा दायर भएपछि उनी फरार भएका थिए। भारत हुँदै नेपाल फर्कने क्रममा ११ असोज २०८१ मा पक्राउ परेका उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

नेपालको सम्पत्ति शुद्धीकरण नियन्त्रणमा ढिलासुस्ती हुँदा देश अन्तर्राष्ट्रिय रूपमा ‘ग्रे लिष्ट’मा परेपछि मुद्दा अघि बढाउन दबाब बढेको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदभार ग्रहण गरेपछि मुद्दा छिटो अघि बढाउन निर्देशन दिएकी थिइन्।

सम्बन्धित समाचार

ताजा न्यूज