काठमाडौं । बारा जिल्ला अदालतका न्यायाधीश भोला ढकाललाई सर्वोच्च अदालतले छानबिनका लागि तानेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा बिचौलियासँग मिलेर भारतीय नागरिकलाई गैरकानुनी रूपमा धरौटीमा छाडेको आरोप लागेपछि नेपाल बार एसोसिएसन बारा शाखाले उजुरी दर्ता गरेको थियो। उजुरीपछि सर्वोच्चले प्रारम्भिक छानबिनका लागि न्यायाधीश ढकाललाई न्यायपरिषद् तानेको हो।
बार एसोसिएसन बारा शाखाले गत असोज १५ गते नै न्यायाधीश ढकालको इजलास बहिष्कार गर्ने घोषणा गरेको थियो। ढकालले सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेका भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हालाई थुनामुक्त गर्ने आदेश दिएका थिए।
कानुनअनुसार एक वर्षभन्दा बढी कैद सजाय हुनसक्ने विदेशी नागरिकलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने व्यवस्था छ। तर, ढकालले अदालतमा डमी व्यक्तिहरू उपस्थित गराई अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएको आरोप लागेको छ।
उनीमाथि आफ्नै घरबेटीमार्फत् कागजी उपस्थिति देखाएर मुद्दा मिलाएको आरोपसमेत परेको छ। सर्वोच्चले अब प्रारम्भिक छानबिनपछि आवश्यक कारबाहीबारे निर्णय गर्ने तयारी गरेको जनाएको छ।

