काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदहरूलाई संघीय संसद् सचिवालयमा रातो पासपोर्ट र सांसद परिचयपत्र फिर्ता गर्न आग्रह गरेको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, सांसद पदबाट राजीनामा दिएपछि आवश्यक औपचारिकता पूरा गर्न पूर्वसांसदलाई यो प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो ।
जेनजी आन्दोलनपछि रास्वपाका सम्पूर्ण सांसदहरूले सामूहिक राजीनामा दिएका थिए । सो घटनामा ठूलो संख्यामा जनहानि भएकोप्रति पार्टीले दुःख प्रकट गर्दै राष्ट्रिय शोकको अवस्थामा जिम्मेवार व्यवहार आवश्यक रहेको जनाएको छ ।
त्यसैगरी, पार्टीले चाडपर्वमा ब्यानर र झण्डा प्रयोग गरी कुनै किसिमका औपचारिक कार्यक्रम नगर्न पनि आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ । पार्टीले जारी गरेको सन्देशमा भनिएको छ, “७५ जनाको ज्यान जाने गरी भएको आन्दोलनको संवेदनशीलतामा हामी सबै गम्भीर रहनुपर्छ, त्यसैले पार्टीको नाम, ब्यानर वा झण्डा प्रयोग गरी चाडपर्वसँग सम्बन्धित कुनै कार्यक्रम आयोजना नगर्न आग्रह गरिन्छ ।”

