काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा प्रहरी दमनबारे अनुसन्धान भइरहेको अवस्थामा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गरेको छ । गृह मन्त्रालयले आयोगको सिफारिसअनुसार उनीहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको हो ।
राहदानी रोक्का हुनेहरुमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल पनि परेका छन् ।
गृहले आयोगको सुझावका आधारमा उनीहरुलाई काठमाडौं उपत्यकाबाहिर जान समेत निषेध गरेको छ । कुनै अत्यावश्यक कारणले उपत्यका बाहिर जानुपर्ने भएमा आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । यसबारे जानकारी अध्यागमन विभागलगायत सम्बन्धित निकायमा पठाइएको गृहले जनाएको छ ।
गत २३ भदौमा भएको जेन–जी आन्दोलनमा प्रहरीले प्रयोग गरेको घातक बलका कारण १९ जनाको मृत्यु भएको थियो । सो क्रममा गृह मन्त्रालयले ‘भीडलाई संसद भवन पुग्न नदिने’ निर्देशन दिएको र त्यसपछि सीडीओ छवि रिजालले गोली चलाउन आदेश दिएको विवरण सार्वजनिक भएको थियो ।
अनुसन्धान जारी रहँदा उच्च तहका पाँच पदाधिकारीलाई यात्रामा रोक लगाइएको निर्णयलाई यस घटनासँग सम्बन्धित जिम्मेवारी तोक्ने प्रक्रियाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

