देश हाम्रो हो, भविष्य हाम्रो हो

नमस्कार,
म जेनजी,

आज हाम्रो देश अभूतपूर्व चुनौती र अवसरको बीचमा उभिएको छ। राजनीतिक अस्थिरता, सुशासनको कमी, आर्थिक मन्दी, रोजगारीको सङ्कट र युवा शक्ति पलायनजस्ता गम्भीर प्रश्नहरूले हामीलाई आक्रान्त बनाइरहेका छन्। यस्तो अवस्थामा केवल समस्या देखेर निराश हुने होइन समाधान खोज्ने साहसिक कदम चाल्न जरुरी छ।

सबैभन्दा ठुलो प्रश्न के हो भने हाम्रो देशलाई सुदृढ बनाउने नेतृत्व कसरी र कहाँबाट जन्मिन्छ ? के केवल प्रधानमन्त्री चयन गरेरै राष्ट्र बलियो बन्न सक्छ ? कि नेतृत्व प्रणालीकै संरचनागत सुधार नगरी अघि बढ्दा फेरि पुरानै गल्तीको पुनरावृत्ति हुन्छ ?

आज हामीले देखिरहेको यथार्थ के हो भने, थुप्रै राजनीतिक नेताहरू अझै पनि पूर्व प्रधानमन्त्री केपी ओलीको छायाँबाट उदाएका छन्। पुराना संरचना र सोचाइमै अड्किएका नेताहरूले नयाँ युगको माग सम्बोधन गर्न सक्छन् त ? अब समय आएको छ, पुरानो ढाँचा तोडेर सक्षम, निष्ठावान् र नवीन सोच बोकेका व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने।

यसैगरी, न्यायपालिका, संवैधानिक अङ्ग र सरकारी बोर्ड–आयोगमा पनि ओलीकालीन नियुक्तिहरूको वर्चस्व अझै कायम छ। प्रश्न उठ्छ के यिनै पदाधिकारीहरूले आम जनताको आवाजलाई निष्पक्ष रूपमा सम्बोधन गर्नेछन् ? वा उनीहरूको स्थानमा योग्य, इमानदार र नवीन सोच बोकेका नयाँ पुस्ताका व्यक्तिहरूलाई जिम्मेवारी दिनु हाम्रो कर्तव्य हो ?

देशको भविष्य युवाको काँधमा छ भन्ने कुरा आज सामान्य नाराभन्दा बढी यथार्थ बनेको छ। युवापुस्ताले अब केवल दर्शक भएर बस्ने समय सकिएको छ। राष्ट्रलाई दिगो, न्यायपूर्ण र समावेशी विकासको बाटोमा अघि बढाउन युवाले प्रश्न गर्नुपर्छ, उत्तर खोज्नुपर्छ र आफ्ना जिम्मेवारी बहन गर्नुपर्छ।

अन्त्यमा, म सबै युवालाई आह्वान गर्न चाहन्छु आफ्नो आवाज दबाउनु होइन उठाउनुहोस्। आलोचना मात्र होइन विकल्प दिनुहोस्। सङ्घर्ष मात्र होइन समाधानको बाटो देखाउनुहोस्। देश हाम्रो हो, भविष्य हाम्रो हो। अब हामीले नै गर्नुपर्छ र हामीले नै गर्न सक्छौँ।

धन्यवाद।

जेनजी विदिशा गिरी
कानून विद्यार्थी

सम्बन्धित समाचार

ताजा न्यूज