काठमाडौँ । संघीय निजामती विधेयक विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। अब विधेयक आजै राष्ट्रिय सभामा पारित गर्न प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।
संघीय निजामती विधेयक शुक्रबार विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। समितिले प्रतिवेदन वाचन गरेर विधेयकलाई स्वीकृति दिएको हो।
विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाश उमेरलाई ६० वर्ष पुर्याउने व्यवस्था गरिएको छ। यसलाई तीन चरणमा लागू गर्ने प्रावधान पनि राखिएको छ। ऐन लागू भएको चालु आर्थिक वर्षसम्म अवकाश उमेर ५८ वर्ष रहने, त्यसपछिल्लो वर्ष ५९ वर्ष र अर्को वर्षदेखि सबै कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम हुने उल्लेख गरिएको छ।
यसअघि सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले अवकाश उमेर तत्काल ५९ वर्ष पुर्याउनुपर्ने अडान राखेकी थिइन्। तर, सत्तापक्षीय सांसद र पार्टी नेतृत्वसँगको छलफलपछि उनले उक्त अडान फिर्ता लिएकी हुन्। दुई दिनसम्म समितिमा अनिर्णय भएको विषय मंगलबार सहमतिको आधारमा टुंगिएको हो।
विधेयक अब राष्ट्रिय सभामा पठाइने छ, जहाँ आजै छलफल र पारित गर्ने प्रक्रिया अघि बढाइने कार्यक्रम रहेको छ।

