काठमाडौं । रौतहटको रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न मुख्य आरोपी लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत ३० वर्षीय पासवानलाई बुधबार साँझ करिब ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
माधवनारायण नगरपालिका–२ मुडबलवाकी २५ वर्षीया रुबीकुमारी साहको गत शनिबार राति हत्या भएको थियो । आइतबार बिहान सडक किनारमा फालिएको सुटकेसभित्र उनको शव फेला परेपछि घटनाले व्यापक चासो पाएको थियो ।
हत्या प्रकरणमा संलग्न रहेको आशंकामा रहेका पासवान बुधबार बिहान आफ्नै घरनजिक मट्टितेल खन्याएर आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई प्रारम्भिक उपचारपछि रौतहटको बेटर नेपाल अस्पतालमा लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई सोही दिन काठमाडौँस्थित कीर्तिपुर वर्न अस्पताल रिफर गरिएको थियो ।

