काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा २९ हजार ७०३ उजुरीको छानबिन गरी फर्स्यौट गरेको छ। सो अवधिमा विशेष अदालतमा १३७ मुद्दा दायर गरिएका छन्।
आयोगका अनुसार अघिल्लो वर्षबाट सरेका ८,४२९ उजुरीसहित कुल ३७,०२६ उजुरी दर्ता भएका थिए। तीमध्ये ८०.२२ प्रतिशत उजुरी फर्स्यौट गरिएको हो। यस वर्ष विभिन्न माध्यमबाट २८,५९७ नयाँ उजुरी प्राप्त भएको आयोगले जनाएको छ।
आयोगको विवरण अनुसार १०,२४५ उजुरी वेबसाइटमार्फत, १०,१८० लिखित निवेदनबाट, ८,४८८ इमेलमार्फत र ५,५५५ हुलाक सेवाबाट आएका थिए। अन्य माध्यमबाट २,५५८ उजुरी दर्ता भएका छन्।
संघीय सरकारसँग सम्बन्धित ३३.६९ प्रतिशत, प्रदेश सरकारसँग सम्बन्धित १२.४७ प्रतिशत र स्थानीय तहसँग सम्बन्धित ५३.८४ प्रतिशत उजुरी दर्ता भएका थिए।
आर्थिक वर्ष २०८१/८२ मा दायर १३७ मुद्दामा ७५३ जना प्रतिवादीविरुद्ध करिब ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको बिगो माग गरिएको छ। मुद्दाहरूमा ३७ घुस/रिसवत, ३६ गैरकानुनी लाभ, २७ नक्कली शैक्षिक प्रमाणपत्र, २३ सार्वजनिक सम्पत्तिको क्षति, ८ गैरकानुनी सम्पत्ति आर्जन र २ सम्पत्ति शुद्धीकरणसम्बन्धी छन्।
समीक्षा अवधिमा विशेष अदालतबाट ३९५ मुद्दा फैसला भएका छन्। तीमध्ये ११९ सोही वर्षका हुन्। ६७.२३ प्रतिशत मुद्दामा कसुर प्रमाणित भएको आयोगले जनाएको छ।
आयोगले ६,७१५ उजुरी सम्बन्धित निकायमा पठाएको र ५८६ उजुरी कार्यान्वयनका लागि सिफारिस गरेको छ। समीक्षा अवधिमा ८१ बैठक बसेर १,४११ निर्णय भएका छन्। यसै अवधिमा सर्वोच्च अदालतमा २५१ पुनरावेदन र ५ पुनरावलोकन दर्ता भएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।