रोशनी शाही कोठाभित्र मृत अवस्थामा फेला, सुसाइड नोट बरामद

भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा रोशनी शाही कोठाभित्र मृत अवस्थामा फेला परेकी छन्। ५० वर्षीया रोशनी शाही आइतबार दिउँसो आफ्नै डेरामा मृत फेला परेको प्रहरीले पुष्टि गरेको छ।

शाही लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी थिइन्। प्रहरीका अनुसार, दिउँसो १:५० बजे स्थानीयले जानकारी दिएपछि पुगेको टोलीले भित्रबाट चुकुल लगाइएको कोठामा शाहीको शव फेला पारेको हो।

भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी माधव बुढाथोकीका अनुसार, घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ। तर शवमा बाह्य चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ।

मृतक शाहीको स्थायी ठेगाना जाजरकोट हो। उनका छोराछोरी विदेशमा रहेका छन् भने श्रीमान् उपत्यका बाहिर काम गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

शाही विगतमा पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको एक बलात्कार प्रकरणमा पीडितको रूपमा सार्वजनिक भएकी थिइन्। यद्यपि सो प्रकरणमा महरा अदालतबाट सफाइ पाएका थिए।

हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि लगिएको छ भने सुसाइड नोटको अध्ययन गरी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज