काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बेलायतको औपचारिक भ्रमणमा गएको पाँच सदस्यीय नेपाली न्यायिक टोली स्वदेश फर्किएको छ।
बेलायती सरकारको औपचारिक निमन्त्रणामा ८ दिने भ्रमणका क्रममा उक्त टोलीले बेलायतको सर्वोच्च अदालतलगायत विभिन्न न्यायिक निकायहरूको अध्ययन अवलोकन गरेको थियो। भ्रमण वैशाख १४ देखि २२ गतेसम्म (२६ अप्रिलदेखि ४ मे २०२५) सम्पन्न भएको हो। दलमा प्रधान न्यायाधीश राउतसँगै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल, र सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल सहभागी थिए।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार भ्रमण दलले न्यायिक प्रणाली, कार्यप्रणाली, र आपसी सम्बन्ध विस्तारका सन्दर्भमा बेलायती अदालतहरूसँग गहन अन्तक्र्रिया गरेको छ। भ्रमणको मुख्य आकर्षणको रूपमा वैशाख १६ गते (२९ अप्रिल) नेपालका प्रधान न्यायाधीश र बेलायतका सर्वोच्च अदालतका अध्यक्ष द लर्ड रिड अफ अलरमुर विचबीच ‘लेटर अफ गुडविल’मा हस्ताक्षर भएको थियो।
उक्त दस्तावेजमार्फत दुवै मुलुकका सर्वोच्च अदालतहरूबीच दीर्घकालीन सम्बन्धलाई थप मजबुत बनाउँदै न्यायिक उत्कृष्ट अभ्यास र पारस्परिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाइएको छ।