काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली काङ्ग्रेसका नेता ६५ वर्षीय किरण सिंह तीन दिनदेखि बेपत्ता रहेकोमा आइतबार गोरुसिङ्गे जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार दिउँसो २ बजे कपिलवस्तु-३ स्थित आफ्नै घरबाट निस्किएका उनी सम्पर्कविहीन भएपछि परिवार र प्रहरीले खोजी गरिरहेका थिए। पूर्व-पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र बाक्लो जङ्गलमा उनी सवार मोटरसाइकल र शव फेला परेका हुन्।
सिंह घरबाट निस्किएपछि नफर्किएपछि उनी चढेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल जङ्गल क्षेत्रमा बेवारिसे रोकिराखेको अवस्थामा भेटिएको थियो। मोटरसाइकल भेटिएलगत्तै प्रहरीले अनुसन्धान तीव्र पार्दै गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरी जङ्गल क्षेत्रमा व्यापक खोजी सुरु गरेको थियो। खोजीका क्रममा प्रहरी टोलीले आइतबार मध्याह्न जङ्गलभित्रै उनको शव भेटाएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले पूर्वमेयर सिंहको शव फेला परेको पुष्टि गर्दै घटनाको गम्भीरताका साथ अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। ६५ वर्षीय जनप्रतिनिधिको यसरी जङ्गलमा शव भेटिएपछि स्थानीयवासी र राजनीतिक वृत्त स्तब्ध बनेको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउँदै घटनाको निष्पक्ष कानूनी अनुसन्धान र सत्यतथ्य छानबिन प्रक्रिया सुरु गरेको छ।

