काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता तहको ३५औँ परीक्षाका लागि अनलाइन आवेदन फारम खुलाएको छ। परिषद्ले एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई तोकिएको मितिभित्र आवेदन दिन आग्रह गरेको छ। कानुनमा स्नातक तह उत्तीर्ण गरेको वा अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी निरन्तर रूपमा परिषद्मा अद्यावधिक गरी ७ वर्षसम्म कानुन व्यवसाय गरेको व्यक्तिले यसका लागि आवेदन दिन सक्नेछन्।
दरखास्त फारम मिति २०८३ साल साउन १९ गतेदेखि भदौ १७ गतेसम्म सामान्य दस्तुर तिरी र भदौ २४ गतेसम्म दोब्बर दस्तुर तिरी बुझाउन सकिनेछ। परीक्षा दस्तुरबापत रु. ४,५००/– (फारम र परीक्षा दस्तुर समेत) लाग्नेछ, जसलाई सिद्धार्थ बैंक लिमिटेड, हात्तीसार शाखामा रहेको NEPAL BAR COUNCIL AAMDANI KHATA खाता नं. ५५५१२७४००६३ मा जम्मा गरी सोको भौचर वा QR निस्सा अनलाइन फारममा अपलोड गर्नुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले परिषद्को आधिकारिक वेबसाइट exam.nepalbarcouncil.com मार्फत अनलाइन फारम भर्न सक्नेछन्। परीक्षा केन्द्र बागमती प्रदेशको हकमा काठमाडौँ र अन्य प्रदेशहरूको हकमा सम्बन्धित प्रदेश राजधानी वा पाश्र्वको सम्पर्क कार्यालयमध्ये परीक्षा समितिले ताकेको स्थानमा रहनेछ भने बागमती प्रदेशबाहेक अन्य प्रदेशमा ५०० जना परीक्षार्थी नपुगेमा परीक्षा काठमाडौँमै हुनेछ। पहिलो पत्र संविधान र कानुन विषयक (बहुबैल्पिक, १०० पूर्णाङ्क) र दोस्रो पत्र कानुन अंग्रेजी नेपाली अनुवाद तथा मस्यौदा लेखन विषयको परीक्षा सञ्चालन हुनेछ।


