पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतको टिप्पणी, समाचार चित्त नबुझे खण्डन गर्नू, मुद्दा होइन

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई साइबर अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ। हिल्टन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानीसम्बन्धी समाचार प्रसारण गरेको विषयमा परेको मुद्दामा अदालतले पत्रकारले सूचना संकलन र सम्प्रेषण गर्दा अपनाउनुपर्ने व्यावसायिक दायित्व र त्यसप्रति असन्तुष्ट पक्षले अपनाउनुपर्ने कानुनी बाटोबारे प्रष्ट पारेको छ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले गरेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा पत्रकारितामाथि अंकुश लगाउने गरी मुद्दा दायर गर्नु आवश्यक नभएको उल्लेख छ।

फैसलामा उल्लेख भए अनुसार, जयवीर देउवाको कुनै व्यवसाय वा लगानी नरहेको भए त्यसलाई प्रमाणसहित खण्डन गर्नु नै उपयुक्त विकल्प थियो। समाचार चित्त नबुझ्दैमा कानुनी विकल्पका रूपमा मुद्दालाई रोज्नुपर्ने अवस्था नरहेको अदालतले ठहर गरेको छ। हिल्टन होटलमा विभिन्न व्यक्तिको लगानी र त्यसमा जयवीर देउवाको नाम जोडिएको विषयलाई लिएर गरिएको समाचारले मानमर्दन वा चरित्र हत्या गरेको नपाइएको अदालतको निष्कर्ष छ।

पाठकले विद्युतीय कारोबार ऐनको दफा ४७ बमोजिम आफूविरुद्ध दायर गरिएको अभियोगबाट सफाइ पाएका हुन्। फैसलामा पत्रकारको व्यावसायिक कर्तव्यबारे चर्चा गर्दै भनिएको छ कि पत्रकारले सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नु कर्तव्य हो। साथै, पत्रकारिताको नाममा व्यक्तिको इज्जत र प्रतिष्ठाको हेक्का राख्नुपर्ने आवश्यकतालाई अदालतले औंल्याएको छ। तथापि, प्रस्तुत मुद्दामा अभियोग दाबी पुष्टि हुने कुनै प्रमाण नदेखिएकाले पाठकले सफाइ पाउने अदालतले ठहर गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज