काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो रिहाइसँगै देश र जनताका लागि न्यायको लडाइँ अझै जारी रहेको बताएका छन्। शुक्रबार रुपन्देही कारागारबाट थुनामुक्त भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै उनले व्यक्तिगत मुद्दाभन्दा मुलुकमाथि भएका अन्यायहरू ठूलो रहेको धारणा राखे।
उच्च अदालत तुलसीपुरको आदेशअनुसार जिल्ला अदालत रुपन्देहीमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी रिहा भएका लामिछानेले अहिलेको संघर्ष आफू केन्द्रित नभई देश र नागरिकको न्यायसँग जोडिएको स्पष्ट पारे। उनले विगतका शासक र नेतृत्वले देशमाथि गरेको अन्यायको हिसाब अझै बाँकी रहेको उल्लेख गरे।
समर्थकहरूलाई सम्बोधन गर्दै उनले न्यायको अन्तिम निष्कर्षमा पुग्न समय लाग्ने संकेत गर्दै धैर्य राख्न आग्रह गरे। “यो लडाइँ अझै सकिएको छैन, देशले न्याय पाउने दिन आउँछ,” उनले भने।
अदालत प्रवेशका क्रममा प्रहरीको गाडी प्रयोग गरेका लामिछाने रिहापछि भने निजी सवारीमार्फत बाहिरिएका थिए। अदालत परिसरदेखि मुख्य सडकसम्म समर्थकहरूले नाराबाजी गर्दै उनको साथ दिएका थिए। लामिछानेले उपयुक्त समयमा आफ्ना धारणा विस्तृत रूपमा सार्वजनिक गर्ने संकेत पनि गरेका छन्।

