इजरायल–हमासबीच युद्धविराम सहमति, २० इजरायली बन्दी मुक्त हुने

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा तयार गरिएको शान्ति योजनाको पहिलो चरणअन्तर्गत दुवै पक्षले युद्धविराममा सहमति जनाएका हुन् ।

बीबीसीका अनुसार, यो सम्झौतामा बिहीबार इजिप्टमा औपचारिक हस्ताक्षर हुनेछ । सम्झौता अनुसार, पहिलो चरणमै हमासले २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गर्नेछ र गाजामा मानवीय सहायता पुगोस् भनेर पाँच नाका तुरुन्त खोलिनेछ ।

एसोसिएटेड प्रेसका अनुसार, इजरायली सेना गाजाका अधिकांश क्षेत्रबाट फिर्ता हुन सुरु गरेको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “यो सम्झौता दिगो शान्तितर्फको पहिलो बलियो कदम हो, जसले सबै पक्षबीच निष्पक्षता सुनिश्चित गर्नेछ।”

अमेरिका, इजिप्ट, कतार र टर्कीले सम्झौताको ग्यारेन्टी दिएका छन् । यी देशहरूले दुवै पक्षले सम्झौताको शर्त पालना गरिरहेसम्म पुनः आक्रमण सुरु नहुने प्रतिबद्धता जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति ट्रम्पसँग टेलिफोन संवाद गरी यो सम्झौतामा पुगेको ऐतिहासिक उपलब्धिमा बधाई साटेका छन् । नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधनका लागि निमन्त्रणा पनि दिएका छन् ।

गाजा युद्धविरामको प्रारम्भिक चरणबारे इजरायल, हमास र मध्यस्थ कतारले बुधबार राति पुष्टि गरेका छन् । तर गाजाको शासन प्रणाली र हमासको निरस्त्रीकरणजस्ता विवादास्पद विषयमा सहमति हुन बाँकी रहेको बताइएको छ । यी विषयमा इजिप्टमा हुने आगामी वार्ताले निर्णय गर्नेछ ।

कतारले पनि युद्धविराम सम्भव बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । इजिप्टको शर्म–अल–शेखमा सोमबारदेखि चलेको वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका प्रतिनिधिहरू सहभागी थिए । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी स्वयं वार्तामा सहभागी भएका थिए ।

प्रधानमन्त्री नेतन्याहूले यो सम्झौतालाई “इजरायलका लागि विशेष दिन” भन्दै रक्षा सेनाका सैनिक र सुरक्षाकर्मीप्रति आभार प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो कूटनीतिक सफलता मात्र होइन, राष्ट्रिय र नैतिक विजय पनि हो । जबसम्म हाम्रा सबै बन्दीहरू फर्किंदैनन्, तबसम्म हामी आरामले बस्ने छैनौं।”

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि दुवै पक्षबीच युद्ध सुरु भएको थियो । उक्त आक्रमणमा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो, जसमा १० जना नेपाली विद्यार्थी पनि परेका थिए । सोही आक्रमणपछि हमासले नेपाली नागरिक विपिन जोशीलाई अपहरण गरेको थियो, जसको अवस्थाबारे अझै जानकारी खुल्न सकेको छैन ।

हालै विपिनको पुरानो भिडियो सार्वजनिक भएपछि युद्धविराम सम्झौताले उनको अवस्थाबारे जानकारी आउने अपेक्षा गरिएको छ ।

गाजा क्षेत्रमा महिनौंदेखि जारी युद्ध रोक्ने प्रयासका क्रममा यो सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा ठूलो कूटनीतिक सफलता मानिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज