काठमाडौँ । वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा उक्त म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो।
यसैबिच, श्रेष्ठको गिरफ्तारीलाई गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको छ। प्रहरीले श्रेष्ठ विरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

