काठमाडौं । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादले कानुनी मोड लिँदै निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाने भएको छ। गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध देउवा समूहले रिट दर्ता गर्न लागेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूह आजै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गर्ने तयारीमा छ। “निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचारका लागि आज अदालत जाने तयारी गरिएको छ,” उनले बताए।
शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै राजनीतिक र कानुनी दुवै तहबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो। बैठकले कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।
स्रोतका अनुसार खड्का हाल रिट निवेदनको मस्यौदा तयारीका लागि कानुन व्यवसायीहरूसँग परामर्शमा छन्। यस प्रक्रियामा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुनविद्हरू संलग्न छन्।
यसअघि गगन थापा–विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आयोजना गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो, जसमा गगन थापा सभापतिमा निर्वाचित भएका छन्। तर देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिइसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको दाबी गर्दै त्यसलाई मान्यता दिन अस्वीकार गर्दै आएको छ।
कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालत पुगेसँगै पार्टीभित्रको आन्तरिक संघर्ष थप जटिल बन्दै जाने संकेत देखिएको छ।

