सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा भएको लुटपाट प्रकरणमा लुटिएको रकममध्ये दुई बोरा पैसा जंगलमा फेला परेको छ।
जिल्ला प्रहरीका अनुसार लुटपाटमा संलग्न समूहले जंगलतर्फ भाग्ने क्रममा छोडेको अवस्थामा दुई बोरा रकम बरामद गरिएको हो। प्रारम्भिक सूचनाअनुसार बैंकबाट करिब तीन करोड सात लाख रुपैयाँ लुटिएको अनुमान गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट टाटा सुमोमा आएका करिब पाँच जना नकाबधारी समूहले बैंकमा लुटपाट गरेको देखिएको छ। लुटेराहरूले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई हातखुट्टा बाँधेर पेस्तोल देखाउँदै लुटपाट गरेका थिए। प्रतिकार गर्न खोज्दा सुरक्षा गार्डलाई खुकुरी प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ।
लुटपाटमा प्रयोग गरिएको बीएडी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो स्थानीय र प्रहरीको सहयोगमा बरामद गरिएको छ। उक्त सवारीसाधनका चालकसहित एक जनालाई नियन्त्रणमा लिइएको घ्याङलेख गाउँपालिका–५ हायुटारका स्थानीय सुवास वाइवाले जानकारी दिए।
बरामद गरिएको रकम र नियन्त्रणमा लिइएको सवारीसाधन इलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू जंगलतर्फ फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र लुटपाटमा संलग्न सबैलाई पक्राउ गर्न खोजी कार्य जारी रहेको जनाएको छ।

