काठमाडौं । जेन–जी आन्दोलनका क्रममा देशभरका अदालत र न्यायिक निकाय आगलागी र तोडफोडबाट प्रभावित बनेका छन्। सर्वोच्च, उच्च र विभिन्न जिल्ला अदालतका भवन, मिसिल, फाइललगायत कागजात नष्ट भएका छन्।
काठमाडौं । जेन–जी आन्दोलनको क्रममा देशभरका अदालत र न्यायिक निकायमा व्यापक क्षति पुगेको छ। सर्वोच्च, उच्च र विभिन्न जिल्ला अदालतका भवनमा आगलागी हुँदा मिसिल, मुद्दाका कागजात, कम्प्युटर, प्रिन्टर र नेटवर्किङ प्रणाली नष्ट भएका छन्।
सर्वोच्च अदालतका अनुसार हालसम्म कति अदालतमा क्षति पुगेको र कति मिसिल जले भन्ने यकिन विवरण संकलन हुन सकेको छैन। प्रारम्भिक तथ्यांक अनुसार सर्वोच्च अदालत, विशेष अदालत, उच्च अदालतहरू (हेटौंडा, बुटवल, तुलसीपुर, विराटनगर, पोखरा, राजविराज) र जिल्ला अदालतहरू (काठमाडौं, कपिलवस्तु, सप्तरी, बाँके, चितवन, कास्की, रूपन्देही, पर्सा, मकवानपुर, कैलाली, सिन्धुली, उदयपुर) तथा न्याय परिषद्मा क्षति पुगेको छ।
आगलागीका कारण अदालतहरूले अनिश्चितकालका लागि मुद्दा सुनुवाइ स्थगित गर्ने निर्णय गरेका छन्। नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जिल्ला सरकारी वकिल कार्यालयका १७ भवनमा समेत क्षति पुगेको छ।
कारागारबाट फरार भएका केही कैदीहरूले अदालत र सरकारी वकिल कार्यालयलाई लक्षित गर्दै आगलागी गरेको सुरक्षास्रोतले जानकारी दिएको छ। कपिलवस्तु कारागारबाट ४०० बढी कैदी फरार हुँदा नजिकैको अदालतमा तोडफोड र आगलागीसमेत गरेका थिए।
नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले घटनालाई भत्र्सना गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
सर्वोच्च अदालतले अब मिसिल संकलन गरेर मात्र इजलास सञ्चालन गर्ने जनाएको छ। सरकारी वकिल र पक्ष–विपक्षसँग मिसिल मागेर मात्र मुद्दा सुनुवाइ सुरु हुनेछन्। अदालतले आवश्यक निर्णय लिएर फुलकोर्ट बसेर सेवा सञ्चालनको निकास निकाल्ने तयारी गरिरहेको छ।

