नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका सुरेन्द्र कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्त भएको अभियोगमा मोरङका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक लाभ तथा शिक्षक पद प्राप्त गरेको ठहर गर्दै मोरङको ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयका शिक्षक सुरेन्द्र कुमार विश्वास थारुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार थारुले निम्न माध्यमिक तहको गणित (राहत) शिक्षक पदमा नियुक्ति प्राप्त गर्न भारतको बिहार स्कुल एक्जामिनेशन बोर्डबाट जारी भएको भनिएको आई.एससी. (इन्टरमिडिएट) तहको नक्कली एवं झुट्टा लब्धाङ्क पत्र तथा प्रमाणपत्र पेस गरेका थिए। उनले वि.सं. २०६३ असार १५ गते उक्त नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पद प्राप्त गरी राष्ट्रसेवकको ओहोदा र लाभ लिएको अनुसन्धानबाट पुष्टि भएको हो।

अख्तियारले शिक्षक थारुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको उल्लेख गरेको छ। आयोगले उनीउपर सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज